कैलालीका दुई पालिकामा कुष्ठरोग रोकथाम अभियान सञ्चालन हुने

महेन्द्रनगर । कैलालीमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ । कैलालीको भजनी नगरपालिका र जानकी गाउँपालिकामा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो ।

एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो । दुवै पालिकामा दशैँ सकिएलगत्तै कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालन हुनेछ । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कुष्ठरोग रोकथाम परियोजनाका संयोजक राजिब अवस्थीले कुष्ठरोग रोकथाम कार्यक्रमको प्रक्रियाबारे जानकारी र नयाँ रोग पहिचानका लागि प्रभावकारी स्क्रीनिङ्को सिकाईका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताए ।

उनले पालिकाको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमबाट समाजमा लुकेर बसेका रोग पहिचान हुने साथै लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाएर कुष्ठरोगको संक्रमण रोकिने विश्वास व्यक्त गरे । कार्यक्रमक्रमा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले कुनै पनि रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व भएको बताए ।

उनले कुष्ठरोग प्रतिको नकारात्मक धारणाको अन्त्य गर्नुपर्ने बताए । उनले कुष्ठरोग प्रभावित व्यक्तिहरू समाजमा खुलेर आए कुष्ठरोग निवारणमा सहजता हुने भएकोले भेदभाव रहितको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले यस कार्यक्रमले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण भुमिका खेल्ने तर्क गरे । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले कैलाली जिल्लालाई कुष्ठरोग मुक्त जिल्ला बनाउनमा लागि पर्न सबैलाई आग्रह गरे ।

उनले यस अभियानमा स्वास्थ्य कार्यालय कैलाली, सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालय सधैँ साथमा रहेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले स्वास्थ्यकर्मीहरूलाई ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा दुवै पालिकाका स्वास्थ्य संयोजक, एनएलआर नेपाल तथा एनएनएसडब्ल्यूएको टीम, जनप्रतिनिधि र विभिन्न स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.