भम्केश्वर कृषि सहकारीको १५औँ साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–६ मा रहेको भम्केश्वर कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

आइतबार आयोजित साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष पदमराज भट्टले गर्नुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष टीकाराम बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने वेदकोट नगरपालिका–६ का पूर्व वडाध्यक्ष फट्टेराम राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको आर्थिक प्रगति तथा वित्तीय अवस्थाबारे जानकारी गराएको थियो। संस्थाका सचिव केशवराज पनेरुले प्रस्तुत गर्नुभएको विवरणअनुसार उक्त अवधिसम्म संस्थाको शेयर पुँजी १ करोड ८८ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी संस्थाले कर्जा लगानी तथा सापटीतर्फ १ करोड ९५ लाख २४ हजार ४ सय ७७ रुपैयाँ परिचालन गरेको जनाएको छ। संस्थाको बैंक मौज्दात ७६ लाख ४५ हजार ३ सय २ रुपैयाँ रहेको सचिव पनेरुले जानकारी दिनुभयो।

साधारण सभामा संस्थाको आर्थिक अवस्था, आगामी कार्ययोजना, शेयर सदस्यको हित तथा सहकारीमार्फत कृषि क्षेत्रको विकास र सदस्यहरूको आर्थिक उन्नतिका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा संस्थाका पदाधिकारी, शेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। साधारण सभाले संस्थाको आगामी गतिविधिलाई थप प्रभावकारी बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक हितमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित

Comments are closed.