बाढी प्रभावित कुतियाकवरमा जलवायु अनुकूलनको अभ्यास, बेसार खेतीबाट आम्दानीको बाटो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर क्षेत्र बाढी तथा डुबानबाट प्रभावित क्षेत्रका रूपमा परिचित छ । करिब ४२ घरधुरी रहेको यस क्षेत्रमा वर्षायाम सुरु भएसँगै स्थानीयमा डुबान र नदी कटानको त्रास बढ्ने गरेको छ । बाढीका कारण खेतबारीमा लगाएको अन्नबाली तथा तरकारी नष्ट हुने र खेतीयोग्य जमिनमा बालुवा थुप्रिने समस्या यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छन् ।

पछिल्लो समय कुतियाकवरका स्थानीयहरू बाढी र जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमसँग जुध्दै त्यसअनुकूल जीवनशैली र कृषि प्रणाली विकास गर्ने प्रयासमा जुटेका छन् । जलवायु परिवर्तनको असरलाई स्वीकार गर्दै त्यसबाट हुने जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदाय निर्माणका लागि स्थानीयहरूले विभिन्न उपाय अपनाउन थालेका छन् ।

बाढी तथा डुबानबाट जोगिन स्थानीयले घर निर्माण गर्दा अग्लो बनाउने, खेतबारीमा बालुवा थुप्रिएपछि त्यसअनुकूल हुने बाली तथा तरकारी खेती गर्ने र मसला खेतीलाई प्राथमिकता दिने अभ्यास सुरु गरेका छन् । यसबाट विपद्को जोखिमसँगै स्थानीयको आयआर्जनको अवसरसमेत बढ्न थालेको छ ।

प्रोस्पर ग्लोबलको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत स्थानीयलाई जलवायु परिवर्तनको असरअनुकूल कृषि प्रणाली अपनाउन प्रोत्साहित गरिएको छ । परियोजनाले स्थानीयको आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा वैकल्पिक तथा उत्थानशील खेती प्रणाली प्रवद्र्धन गर्दै आएको छ ।

यसैक्रममा कुतियाकवरका स्थानीयले बेसार खेतीलाई आयआर्जनको माध्यमका रूपमा अघि बढाउन थालेका छन् । बाढीका कारण खेतमा बालुवा थुप्रिए पनि त्यही बलौटे माटोमा उत्पादन गर्न सकिने भएकाले बेसार खेती स्थानीयका लागि वैकल्पिक आम्दानीको स्रोत बन्न थालेको हो ।

स्थानीय मोतीराम सुनार अहिले करिब २२ कट्टा क्षेत्रफलमा बेसार खेती गरिरहनुभएको छ । लामो समयदेखि बाढीको समस्या भोग्दै आउनुभएका सुनारले बालुवा भरिएको जमिनमा समेत खेती गर्न सकिने भएपछि बेसार खेती सुरु गर्नुभएको बताउनुभयो ।
उहाँका अनुसार बाढीले परम्परागत रूपमा गरिँदै आएको खेतीमा ठूलो क्षति पु¥याउने गरेको भए पनि अहिले आफूहरूले वातावरण र जमिनको अवस्थाअनुसार खेती गर्ने तरिका सिक्दै आएका छन् ।

बलौटे माटोमा समेत बेसार खेती गर्न सकिने भएपछि आफूहरूलाई खेतीबाट आम्दानी गर्न नयाँ सम्भावना देखिएको उहाँको भनाइ छ ।वर्षायाममा आउने बाढीले खेतीबाली बगाउने तथा खेतमा बालुवा थुपारिदिने भएपछि स्थानीयलाई उत्पादन गरेको अन्नसमेत घरमा भित्र्याउन कठिन हुने गरेको छ ।

कुतियाकवरमा सुरु भएको यस्तो अभ्यासले बाढी तथा जलवायु परिवर्तनका कारण प्रभावित समुदायले जोखिमबाट भाग्ने मात्र नभई उपलब्ध स्रोत, जमिन र वातावरणअनुसार आफ्नो कृषि प्रणाली परिवर्तन गर्दै जलवायु उत्थानशीलतातर्फ अघि बढ्न सक्ने उदाहरण प्रस्तुत गरेको संस्थाका परियोजना संयोजक महेश घिमिरेले बताउनु भयो ।

स्थानीयका लागि जलवायु परिवर्तन अहिले केवल वातावरणीय समस्या मात्र नभई दैनिक जीवन, कृषि उत्पादन र आम्दानीसँग जोडिएको विषय बनेको छ ।

त्यसैले जोखिमयुक्त क्षेत्रमा उच्च घर निर्माण, बाढी सहन सक्ने वा बाढीपछि पनि उत्पादन दिन सक्ने बालीको छनोट, मसला तथा तरकारी खेतीको प्रवद्र्धनजस्ता अभ्यासले स्थानीयको जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

कुतियाकवरका स्थानीयको अनुभवले पनि जलवायु परिवर्तनको असरबाट पूर्ण रूपमा जोगिन नसकिए पनि त्यसअनुकूल कृषि प्रविधि, जीविकोपार्जनका वैकल्पिक उपाय र स्थानीय ज्ञानको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्न सकिने देखाएको छ । बाढीले पटक–पटक क्षति पु¥याउने क्षेत्रका रूपमा चिनिएको कुतियाकवरमा अहिले भने त्यही चुनौतीलाई अवसरमा बदल्दै स्थानीयहरू जलवायु उत्थानशीलतातर्फ अघि बढिरहेका छन् ।

सम्बन्धित

Comments are closed.