“बाढीले खेती जोखिममा, मौरीपालनले दियो आम्दानीको विकल्प”

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकस्थित अठन्नीफाँटाकी गोमती बोहराले अहिले मौरीपालनलाई आम्दानीको माध्यम बनाउन थाल्नुभएको छ । वर्षायाममा बनरा नदीमा आउने बाढी र नदी कटानको जोखिम झेल्दै आएको बस्तीमा मौरीपालनले स्थानीयको जीविकोपार्जनमा नयाँ सम्भावना देखाएको छ । प्रोस्पर ग्लोबलको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत बोहराले मौरीपालन सुरु गर्नुभएको हो। कृषी ज्ञान केन्द्र, कञ्चनपुर, एनएनएसडब्ल्यूए र किसान विच लगानीमा त्रिपक्षिय सम्झौतामा उक्त मौरी पालनको सुरुवात भएको छ ।

लगानीको २० प्रतिशत किसानले बेहोर्ने सम्झौता अनुरुप गोमती बोहराको लागी मौरीपालन आम्दानीको नयाँ माध्यम बनेको छ । मौरीका घारबाट विस्तारै मह उत्पादन गरी बिक्री गर्ने र त्यसबाट परिवारको आय बढाउने उहाँले बताउनु भयो । मौरीपालनले खेतीपातीमा मात्रै निर्भर हुनुपर्ने बाध्यता घटाउने विश्वास स्थानीयमा देखिएको छ ।

बाढीको जोखिममा रहेको समुदायलाई जलवायुजन्य विपद्का कारण हुने आर्थिक क्षति न्यूनीकरण गर्दै वैकल्पिक आयआर्जनका माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउने उद्देश्य रहेको परियोजना संयोजक महेश घिमिरे बताउनु भयो ।

खेतीपातीमा निर्भर परिवारका लागि बाढी र डुबानका कारण उत्पादनमा क्षति हुने तथा आम्दानीको स्रोत प्रभावित हुने अवस्था रहेकाले वैकल्पिक आयआर्जनको लागी मौरी पालन सहयोग गरीएको बताउनु भयो । जलवायु उत्थानशील समुदाय परियोजनाअन्तर्गत स्थानीयस्तरमा आयआर्जनका सम्भावनाको अध्ययन गरी मौरीपालनलाई प्राथमिकतामा राखिएको एनएनएसडब्ल्यूएले जनाएको छ ।

कृषि ज्ञान केन्द्र तथा संस्थाले गरेको अध्ययन तथा सर्वेक्षणबाट उक्त क्षेत्रमा मौरीपालनको सम्भावना राम्रो देखिएपछि स्थानीयलाई मौरीका घारलगायत आवश्यक सहयोग उपलब्ध गराइएको हो । संस्थाका अनुसार बाढी तथा जलवायुजन्य जोखिममा रहेका समुदायलाई केवल राहतमा निर्भर गराउनेभन्दा उनीहरूको आफ्नै आम्दानीको स्रोत विकास गरी आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य परियोजनाको रहेको छ ।

बाढीको जोखिमसँगै संघर्ष गरिरहेको अठन्नीफाँटामा सुरु भएको मौरीपालनले गोमती बोहराजस्ता स्थानीयका लागि विपद्सँग जुध्दै आम्दानी गर्ने र आत्मनिर्भर बन्ने नयाँ विकल्प सिर्जना गरेको छ ।

स्थानीयस्तरमा मौरीपालन विस्तार गर्न सकिए यसले बाढी प्रभावित परिवारको आयआर्जन बढाउनुका साथै जलवायु परिवर्तनका असरविरुद्ध समुदायको उत्थानशीलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Comments are closed.