घटस्थापनाको अवसरमा विशेष कार्यक्रम गर्दै सनराइज पब्लिक स्कुल

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको सनराइज पब्लिक स्कुलले घटस्थापनाको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली मौलिक संस्कृति, चाडपर्व तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले घटस्थापनाको दिन विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ। आफ्नो संस्कृति, परम्परा र चाडपर्व कसरी मनाइन्छन्, तिनको पछाडि के–कस्ता मूल्य, मान्यता र विश्वास जोडिएका छन् भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

पछिल्लो समय आधुनिक जीवनशैलीको प्रभावसँगै मौलिक संस्कृति तथा परम्पराप्रति नयाँ पुस्ताको चासो घट्दै गएको अवस्थामा विद्यालयस्तरबाटै सांस्कृतिक ज्ञान र चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको देखिन्छ। यसैलाई मध्यनजर गर्दै सनराइज पब्लिक स्कुलले विद्यार्थीहरूलाई आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराप्रति परिचित गराउने प्रयास गरेको शिक्षिका लता ठकुराठीले जानकारी दिनुभयो ।

विद्यालयमा गठन गरिएका विभिन्न क्लब मार्फत विभिन्न साँस्कृती, झाँकी, भजनकृतनहरु र महाआरतीको आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुले विगत एक हप्ता देखी कार्यक्रमको लागी तैयारी पनि गरीरहेको र सबै अभिभावक, शुभचिन्तकहरुलाई उक्त कार्यक्रमा सहभागी जनाइदिन विद्यालयले आग्रह गरेको छ ।

विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक, सामाजिक तथा सांस्कृतिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस्तो कार्यक्रमले नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति सम्मान र अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालीहरूको महान् चाड बडादशैँको सुरुवातका रूपमा मनाइने घटस्थापनाको अवसरमा आयोजना हुने यस कार्यक्रमले विद्यार्थीहरूलाई चाडपर्वको महत्त्व बुझ्न तथा नेपाली संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्ने विश्वास लिइएको छ।

सम्बन्धित

Comments are closed.