महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति तथा नाटक प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले गीत, संगीत र नाटकमार्फत नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको महत्व झल्काउने प्रस्तुति दिएका थिए।विद्यार्थीहरूलाई नेपाली समाजमा प्रचलित परम्परा, संस्कृति, रीतिरिवाज तथा चाडपर्व मनाउने तौरतरिकाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा आधारित शिक्षासँगै आफ्नो मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत सहभागी गराउँदै आएको छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न, सिर्जनात्मक क्षमताको विकास गर्न र आफ्नो संस्कृति तथा चाडपर्वप्रति सम्मानभाव बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति र परम्पराको महत्व बुझाउनुका साथै आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
Comments are closed.