भीमदत्त–११ का वडा अध्यक्ष थापाले आफनो सेवा सुविधा वितरण ज्येष्ठ नागरिकलाई दिए

महेन्द्नगर । भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले आफ्नो सेवा सुविधाबापत प्राप्त रकम ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरेका छन्।वडा अध्यक्ष थापाले वडाका १९० जना ज्येष्ठ नागरिक र २५ जना अपाङ्गता भएका व्यक्तिलाई उक्त रकम वितरण गरेका हुन्।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै उनले आफूले प्राप्त गर्ने सेवा सुविधालाई लक्षित वर्गको हितमा खर्च गरेका हुन्। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस कार्यले उनीहरूको दैनिक जीवनयापनमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।

समाजमा रहेका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व हो। जनप्रतिनिधिले प्राप्त गर्ने सेवा सुविधालाई सामाजिक हितमा उपयोग गर्ने यस्ता कार्यले स्थानीय तहमा सामाजिक उत्तरदायित्व र सेवाभावको महत्त्वलाई उजागर गरेको छ।

निर्वाचित भएदेखि नै आफूले पाउँदै आएको सेवा सुविधालाई सामाजिक कार्यमा खर्च गर्दै आएका वडा अध्यक्ष थापाले दशैँको अवसर पारेर वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित आर्थिक सहयोग गरेका हुन्।आफु निर्वाचित भए देखी नै आफूले पाउँदै आएको सेवा सुविधाको रकमलाई गरिब, विद्यार्थी, बाढीपीडित, वृद्धवृद्धा लगायत अन्य सामाजिक क्षेत्रमा खर्च गर्दै आईरहेका छन्।

साथैउनले आगामी दिनमा पनि यस्तै आफूले सकेको सहयोग गर्न तत्पर रहने प्रतिवद्धता गरेका छन् ।वडा अध्यक्ष थापाले आफूले पाएको सेवा सुविधाको सबैजसो रकम वडामा सामाजिक कार्यमा नै खर्च गर्ने गर्दछन्। विगतका गतवर्ष पनि वडा अध्यक्ष थापाले दशैंको अवसरमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए।

वडा अध्यक्ष थापाले गरेका यस्तै सामाजिक कार्यका कारण स्थानीयमा खुसियालि छाएको छ।आर्थिक एवम् स्वास्थ्य अवस्था कमजोर भएको बेला थोरै भएपनि वडा अध्यक्ष थापाले सम्मान र सहयोग गरेको भन्दै वडा अध्यक्ष थापालाई वृद्धवृद्धाहरूले आशिर्वाद दिएका छन्।

सम्बन्धित

Comments are closed.