सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा आउने निक्षेप (नगद) घटेको छ । निक्षेप घटेपछि बैंक तथा वित्तीय संस्थाहरुको ऋण दिने क्षमतामा कमी आएको हो ।
२०७८ चैत मसान्त सम्म प्रदेश भित्र सञ्चालिक ‘क’ वर्गका ३ सय ५ वटा वाणिज्य बैंकका शाखा बाट ९६ अर्ब निक्षेप संकलन भएको देखिएको छ । सो अवधि सम्म कर्जा लगानी भने एक खर्ब ३५ अर्ब पुगेको छ । सुदूरपश्चिममा सञ्चालित वाणिज्य बैंकहरुले अन्य क्षेत्र बाट निक्षेप लिएर ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
निक्षेप संकलनमा आएको कमीले प्रदेश भित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले ५÷६ महिना सम्म अझै कर्जा लगानी गर्न सकिने अवस्था नदेखिएको बैंकरहरुले बताएका छन् । अन्य क्षेत्रबाट निक्षेप लिएर भएपनि सुदूरपश्चिममा कर्जा प्रवाह बढेको नेपाल बैकर्स एशोसियन सुदूरपश्चिम प्रदेश च्याप्टरका सदस्य सचिव दिवाकर दत्त जोशीले बताए ।
‘चैत महिना सम्म ९६ अर्ब मात्र यहाँ सञ्चालित वाणिज्य बैंकहरुले निक्षेप संकलन गरेको देखिन्छ भने एकसय ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ’ उनले भने, ‘३९ अर्ब रुपैयाँ बाहिर बाट निक्षेप ल्याएर बैंकले सुदूरपश्चिममा लगानी गरेको देखिएको छ ।’ हिजो सुदूपश्चिम बाट संकलित निक्षेप अन्त लगानी हुने गरेको थियो भने अहिले सुदूरपश्चिम बार बाट संकलन भएको निक्षेप यहाँ लगानी भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश भित्र वाणिज्य बैंकका ३ सय २४, विकास बैंकका ४७, वित्तीय कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४ सय ४८ गरी कूल ८ सय २५ शाखा कार्यालय विस्तार भएको देखिएको हो । सबैभन्दा बढी कैलालीमा तीन सय ६० र सबैभन्दा कम बाजुरामा २७ बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएको राष्ट्र बैंक धनगढीको तथ्यांक छ । सहर केन्द्रित बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय एकपछि अर्को गाउँगाउँमा विस्तार हुने क्रम बढ्दै गएको हो ।
यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढ्दै गएको देखिए पनि उद्योग, व्यापार र रोजगारीको अवस्था नभएकाले निक्षेप संकलनमा कमी आएको राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रबन्धक त्रिचन्द्र भण्डारीले बताए । ‘रोजगारी नभएकाले निक्षेप बढ्न सकेको छैन, रोजगारी बढाउन उद्योग विकास अपरिहार्य छ’ उनले भने ।
प्रदेश भित्र बैंक तथा वित्तीय संस्थाका शाखा बाजुरामा २७, बझाङमा ३७, दार्चुलामा ३२, बैतडीमा ३८, डडेल्धुरामा ५२, डोटीमा ४६, अछाममा ५४, कैलालीमा ३६० तथा कञ्चनपुरमा १७९ पुगेको तथ्यांक छ । मुलुकमा तीन तहका सरकार निर्माण सँगै हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार बढेको सरोकारवाला बताउँछन् ।
अहिले पनि अधिकांश बैंक तथा वित्तीय संस्था सहरमै केन्द्रित भएको देखिएको छ । प्रदेशमा बाहिर बाट निक्षेप लिएर लगानी भएको देखिनु लगानीका लागि सुदूरपश्चिम भर्जिन ल्याण्ड भएको विषयलाई दर्साएको बैकरहरु बताउँछन् ।
२०७८ पुस मसान्त सम्म बैंक तथा वित्तीय संस्था बाट सुदूरपश्चिम प्रदेशमा २०७८ असार मसान्तको तुलनामा कर्जा प्रवाह ५१ दशमलव ८१ प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्व ४० करोड ७७ लाख पुगेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो कर्जा २४ दशमलव ९६ प्रतिशतले वृद्धि भएको थियो ।
निक्षेप सँगै कर्जा लगानी प्रदेश भित्र बढ्दै गएको हो । निक्षेप र कर्जाको अनुपात सबैभन्दा बढि कैलाली र सबैभन्दा कम बाजुरामा देखिएको छ । प्रदेश भित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो २ वर्षको अवधिमा एक खर्ब १० अर्वको हाराहारीमा निक्षेप संकलन गरेको देखिएको छ ।