थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइने भएको हो । यही भाद्र १२ गते आइतबारका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । यसअघि भाद्र १९ गते दिने भनिएको सो बिदा प्रदेश सरकार मन्त्री परिषदको ९ गतेको निर्णय अनुसार १२ गते दिइने भएको हो ।
उक्त दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहने जनाइएको छ । थारू समुदायको अट्वारी पर्वमा सार्वजनिक विदाका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावललाई थारु कल्याणकारिणी सभा कैलालीले भदौ ८ गते ज्ञापन पत्र बुझाइएको थियो । थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारुको नेतृत्वमा गएको टोलीले अट्वारी पर्वमा सार्वजनिक विदा दिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाइएका थिए ।
हरेक वर्ष कृष्ण जन्माष्टमी पछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । यस वर्ष भदौ १२ गते उक्त दिन परेकोले थारु कल्याणकारिणी सभा कैलालीले भदौ १२ गते नै सार्वजनिक विदा माग गरेको थियो । यसै बिच थारु कल्याणकारिणी सभा कैलालीको नेतृत्वमा जिल्ला भरि पालिका स्तरीय सामुहिक तथा संस्थागत रुपमा अट्वारी पर्व मनाईने कार्यावाहक सभापति थारुले जानकारी दिए । अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अट्वारी व्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघी पछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । साझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अट्वारी पुजा गर्ने गर्दछन् ।
अट्वारी पुजामा अण्डीक रोटी, काक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पँच अथवा सात प्रकारका गेडा गुडी युक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेली बेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदी बहिनी बीच माया प्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।