सुदुरपश्चिम र मध्यपश्चिमको तराई जिल्ला लगायत कपिलवस्तु तथा रुपन्देहीको थारु समुदायमा शनिबार देखि अट्वारी पर्वको चहल पहल शुरु भएको छ । शनिबार राती ४ बजे तिर दर खाएर अर्थात भन्सरीया भात खाएर आइतबार दिनभरी थारु युवा युवतीहरु निराहार ब्रत बस्ने प्रचलन रहेको छ । कृष्ण जन्माष्टमी पछिको पहिलो पुर्णिमाको दिन मनाउने यो पर्वमा खास गरेर बर्किमार अर्थात महाभारतका पाच पाण्डव मध्ये भिम र आगोको पुजा गर्ने गरिन्छ ।
प्रायजसो पुरुषहरु आइतबारका दिन ब्रत बसेर साझ पख भिम अथवा भिवा“का लागि एकातिर बाट मात्र पकाएको रोटी छुट्याई सकेपछि अग्नी पुजा गरिन्छ । दिदी बहिनीहरुका लागि रोटी र फलफुल अग्रासन छुट्याइ सकेपछि फरहार गरिन्छ । यो पर्वमा रोटी पकाउनका लागि पवित्र आगो गन्यारी काठ बाट अर्थात सल्लाको काठ बाट निकालिएको चाहिन्छ । यो पर्वमा महाभारतका पाच पाण्डवका पात्र भिमको पुजा गरेर शुरुको रोटी उनकै लागि छुट्याउने गरिन्छ ।
जुन एकातिर बाट मात्र पकाइने गरिन्छ । दाङ्गका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरेको समयमा सहयोग माग्न आउदा सुर्खेतको काक्रे बिहार घुम्न आएका भिमले रोटी पकाउदा पकाउदै सहयोग गर्न गएको र शत्रुहरु संग लडाई लडेर थारु राज्य र चेलीबेटीहरुलाई संरक्षण गरेको सम्झनामा थारु समुदायमा अट्वारी पर्व मनाउने प्रचलन रहिआएको धार्मिक बिश्वास रहेको छ । अट्वारी पर्वको अवसरमा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाहरुले सार्वजनिक बिदा समेत गरेका छन् ।