सोमवार हरितालिका तीजको अघिल्लो दिन । सोमबार बेलुका घर घरमा दर खाने चलन छ । दर खाने दिन संगै चार दिने तीज पर्व सुरु भएको छ । सोमबारको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेष गरी दूध बाट बनेका परिकार खाइन्छ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ मंगलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन् । गीतका माध्यम बाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघर बाट कर्म घरमा गइ बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् । पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ ।
एक महिना अघि देखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनु पर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमी सम्म मनाइन्छ ।
मंगलबार तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सि गणेश भगवानको पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । बिषेस गरेर महिलाहरुले सोमबार दर खाएर मंगलबार निरहार व्रत बसी अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकू भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुख शान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
Comments are closed.