कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा शनिवार गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमी देखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन शनिबार अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइदैछ । आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरा देवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरा देवीको मन्दिर स्थापना गरेको ठाउमा जम्मा भएर पर्व मनाउने गर्छन् ।
सुदूरपश्चिमको मौलिकता संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारत लगायतका देशमा गएकाहरु फर्किएपछि गाउघरहरु भरिभराउ भएका छन् । भदौ शुक्ल पञ्चमी देखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घर घरमा तामाको भाडामा बिरुडा (पँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहु, मास र गुरौस मिसाएर तामाको भँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकोले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।
त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्रयाएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवाली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यम बाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरीने पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यम बाट सुख दुःख बँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।