कञ्चनपुरमा गिद्धको संख्या बढ्दै

कैलालीमा गिद्धको गुँड घटेको पाइएको छ । सन २०२२ मा गरिएको सर्वेक्षण बाट अघिल्लो वर्षको तुलनामा गुँड घटेको पाइएको हो । सन् २०२१ को सर्वेक्षणले गिद्धको गुँडको संख्या २८ वटा रहेको देखाएको थियो । यसैगरी, सन २०१३ मा गरिएको सर्वेक्षणको क्रममा ८२ वटा गुँड फेला परेको थियो । पहिलो चोटी २०३५ मा सर्वेक्षण गर्दा भने गुँडको संख्या ३५ रहेको थियो ।

कैलालीको खुटिया सामुदायिक वन, पटेला सामुदायिक वन लगायतका वन क्षेत्रमा गिद्धले गुँड लगाउने गरेका छन् । कैलालीमा गिद्धको गुँड केही घटेको देखिए पनि कञ्चनपुरमा गिद्धको गुँड निरन्तर बढ्दो क्रममा रहेको छ । सन २०१० मा पहिलो पटक सर्वेक्षण गर्दा कञ्चनपुरमा जम्मा एक वटा गुँड भेटिएको थियो ।

२०२१ मा भने ५६ वटा पुगेको थियो । पछिल्लो समय २०२२ मा सर्वेक्षण गर्दा सो जिल्लामा दोब्बरले वृद्धि भएर गुँड संख्या ११० पुगेको कैलाली, कञ्चनपुरमा गिद्धको गुँड सर्वेक्षण गर्दै आउनु भएका चराविद हिरुलाल डंगौैराले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बन्साहा, पर्सिया क्षेत्रमा गिद्धको बसोबास र गुँड रहेको छ । कैलाली, कञ्चनपुरमा पाइने गिद्ध र गुँडको पंक्षी संरक्षण सङ्घ (बीसीएन) ले सर्वेक्षण गर्दै आएको छ । दुवै जिल्लामा सात प्रजातिको गिद्ध पाइने गरेका छन् ।

कैलालीमा करिब एक सयको हाराहारीमा गिद्ध रहेका जनाइएको छ । त्यस्तै, कञ्चनपुरमा गिद्धको संख्या तीन सयको हाराहारीमा रहेको छ । कैलालीमा गिद्धको संख्या पनि घट्दै गएको देखिएको डंगौैराले बताए । ‘तर, कञ्चनपुरमा भने संख्या बढ्दै गएको छ’, उनले भने ।

दुवै जिल्लामा डङ्गर, सुन, गोब्रे, सानो खैरो गिद्धले प्रजनन कार्य गर्ने गरेको डङ्गौराले बताए । उनका अनुसार कैलाली, कञ्चनपुरमा पाइने डङ्गर, सानो खैरो, सुन गिद्ध अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को अतिसङ्कटापन्न सूचीमा रहेका छन् ।

गोब्रे गिद्ध भने दुर्लभ अवस्थामा रहेको जनाइएको छ । नेपालमा पाइने हिमाली गिद्ध नेपालको रैथाने प्रजाति हो । रैथाने यो गिद्ध जाडो छल्नका लागि कैलालीमा पनि पुग्ने गर्दछन् । राज गिद्ध र खैरो गिद्ध भने नेपालमा जाडो सिजनमा पाहुनाको रुपमा मात्रै आउने गरेको चराविद डंगौराको भनाइ छ ।

डंगौराका अनुसार १९९० को दशक देखि एसियामा गिद्धको संख्यामा नाटकीय रुपमा कमी आएको छ । २३ वर्षको समायवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९९.९ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनले देखाएको थियो । सन २००२ देखि गरिएको वैज्ञानिक अध्ययनले नेपालमा गिद्धको संख्या ९१ प्रतिशतले घटेको छ । प्रकृतिको कूचीकार मानिने गिद्धको संख्या घट्दै गएपछि गिद्ध संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ ।

नेपालमा यसवर्ष १४ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रम गरेर भदौ १६ देखि २२ गते सम्म सप्ताहव्यापी रुपमा मनाइदै छ । बीसीएनको अगुवाइमा विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय, सामुदायिक तथा गैर सरकारी संस्थामा विभिन्न कार्यक्रम गरेर गिद्ध सचेतना दिवस मनाइने जनाइएको छ ।

सम्बन्धित

Comments are closed.