भू क्षय रोक्न कञ्चनपुरका स्थानीय तह जैविक तटबन्धमा लगानी बढाउन थालेका छन्। भू क्षय रोक्नका लागि दिगो उपायका रुपमा स्थानीय तहले जैविक तटबन्ध बनाउन थालेका हुन्।
नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भू(क्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेती योग्य जग्गा जोगिन थालेपछि जैविक तटबन्ध निर्माणमा जनसहभागिता समेत बढ्न थालेको छ।
माघ महिनाको चिसो पानीमा स्याली नदीमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहकार्यमा जैविक तटबन्ध निर्माणमा स्थानीयसँगै खटिएका शुक्लाफाँटा नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका ढुंगा तारजालीको तटबन्धले रोक्न नसकेको भू क्षयको कार्य जैविक तटबन्धले रोक्न थालेपछि यस कार्यालाई निरन्तरता दिँदै आएको बताए। उनका अनुसार रेडक्रस सँगको सहकार्यमा वडा कार्यालयले स्याली नदीको उल्टापानीमा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरेको छ।
जसका लागि वडा कार्यालयले एक लाख ५० हजार, रेडक्रसले प्राविधिक सहयोगसहित नगद रु एक लाख ७० हजार रकमसहित स्थानीयले एक लाख २३ हजार बरावरको श्रमदान गर्ने छन्। स्थानीय तह सँगको सहकार्यमा चारवर्ष अघिदेखि स्याली, सवनवोरा, वनहरा र दोदा नदीमा रेडक्रसले निर्माण गरेका जैविक तटबन्ध भू(क्षय रोक्न सक्षम भएका छन्।
स्थानीय तहले थोरै रकममा भू(क्षय हुने जग्गा जैविक तटबन्धका माध्यमबाट रोकिन थालेपछि यसका लागि बजेटको व्यवस्था गर्दै आएका छन्।
रेडक्रसका विपद् जोखिम न्यूनीकरण सुपरभाइजर जनक लेखकका अनुसार चालु आबमा शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सहकार्यमा एक हजार दुई सय ५० मिटर जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ।
स्याली र दोदा नदीमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ। लालझाडी गाउँपालिका भएर बग्ने दोदा नदीको खल्लाजाँई, सिकलपट्टि र नन्द गाउँमा गरी एक हजार ५० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ।