महेन्द्रनगर । आईतवार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गरेको भएपनि मत बदरको संख्या बढने देखिएको छ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएको छ ।
मतदाता शिक्षा भने पनि प्रभावकारी हुनसकेको छैन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाएर कसरी मत हाल्ने भनेर शिक्षा दिएपनि कर्मचारीहरु सबै ठाँउमा पुग्न नसकेपछि मत बदरको संख्या बढन सक्ने देखिएको हो । कात्तिक १८ देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन गर्ने निर्वाचन आयोगको कार्यतालिका व्यवहारमा लागू भएको छैन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय मतदाता शिक्षा, स्थानीय तह प्रशासकीय प्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा मतदाता शिक्षा र वडा सचिवको संयोजकत्वमा वडास्तरीय मतदाता शिक्षा समन्वय समिति बनाई शिक्षा दिने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालयले सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाएको दाबी गरे पनि जिल्लाका सबै क्षेत्रमा मतदाता शिक्षा दिने व्यक्तिहरु नगएको पाईएको छ । भीमदत्त नगरपालिका १८ भगतपुरका स्थानिय गिता भट्टले मत कसरी हाल्ने भनेर जानकारी नभएको बताईन् । ‘भोट माग्नका लागी जिल्लाभरका सबै दल पार्टी धेरै पटक हात जोडदै आए’ । तर मत हाल्न भने अहिलेसम्म कसैले पनि सिकाएका छैनन्,’ उनले भनिन्, ‘चुनावमा मतदान कसरी गर्ने भन्ने थाहै छैन ।’ मतदान गर्दा के गरे सदर र के गरे बदर हुन्छ भन्ने थाहा नभएको उनले बताइन ।
उम्मेदवारहरुले आफनो पार्टीको चुनाव चिन्ह तथा आफनो चिन्ह देखाएर मत मागेका छन तर यसरी हाल्नु होला भनेर भनेका छैनन् उनले भनिन् । गत बैशाखमा भएको स्थानिय चुनावमा पनि आफूले जस्तो जानको थियौ त्यस्तै भोट हालेको भीमदत्त नगरपालिका १८ की लक्ष्मी भट्टले बताईन् । अहिले पनि कोही आएका छैनन्,’ उनले भने, ‘अहिलेसम्म कोही पनि सिकाउन आएका छैनन् ।’ यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले मानविय स्रोतको अभावले सबै ठाँउउमा पुग्न नसकेको स्विकार गरेका छन् ।
एक वडामा १ जना मात्रै मतदाता शिक्षा सिकाउने कर्मचारी भएकोलेृ सबै ठाँउमा गएर सिकाउन नसकेको बताए । कञ्चनपुरमा प्रतिनिधिसभाका ३ क्षेत्र रहेका छन् जस्मा ३ लाख २ हजार ५ सय ९ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार १ सय १०, २ मा १ लाख ५ हजार ५ सय ७७ र ३ मा ९७ हजार ८ सय २२ मतदाता छन् । कञ्चनपुरमा १ सय ३२ मतदानस्थल र ३ सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७ सय ६८ कर्मचारी परिचालन गरिएको छ । कारागारका कैदीबन्दी र कर्मचारीका दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।