कञ्चनपुरमा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधी सेवन अभियान २०७६ सम्बन्धि पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
कञ्चनपुर जिल्लाको कुल जनसंख्या ५ लाख २५ हजार ९ सय ८७ जनामध्ये कुल औषधी औषधी खान योग्य ४ लाख ३८ हजार ७ सय ५१ जनसंख्याको ८५ प्रतिशत अर्थात ३ लाख ७२ हजार ९ सय ३८ जनालाई हात्तीपाइले रोग विरुद्धको डीइसी र अलबेन्डाजोल खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन सिद्धराज भट्टले बताउनु भयो ।
उहाका अनुसार कञ्चनपुरको कुल जनसंख्यामध्ये २ वर्षमुनिका व्यक्तिहरुको संख्या २१ हजार ८ सय ९६ जना रहेको छ । त्यसैगरी अनुमानित गर्भवतिहरुको संख्या १३ हजार ८ सय ३६ जना, ६० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरीकहरुको संख्या ४५ हजार ५ सय ४ जना, दीर्घरोगी र स्तनपान गराउने आमाहरुको संख्या ३÷३ हजार गरी कुल औषधी खान नपर्ने जनसंख्या ८७ हजार २ सय ३६ जना रहेका छन् ।
कञ्चनपुरमा वि.सं. २०६९ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान शुरु भएको बताउदै स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन भट्टले यही माघ २५ गतेबाट आठौ पटक औषधी खुवाइने बताउनु भयो । भट्टका अनुसार हाइड्रृोसिल भएका बिरामीहरुमध्ये ९० प्रतिशतमा हात्तीपाइलेका कारण हुने गर्दछ । विश्वमा ५० देशका व्यक्तिहरुमा हात्तीपाइलेको सक्रमण देखिएको उहाले जानकारी दिनु भयो ।
विगतका वर्षहरुमा जनस्वास्थ्य कार्यालयबाट औषधी वितरण तथा सो सम्बन्धि सम्पुर्ण कार्य हुने गरेको बताउदै उहाले अहिले भने सम्पुर्ण स्थानीय तहहहरुले आआफ्ना पालिकाहरुमा औषधी वितरण गर्ने जिम्मा र बजेट पाएको बताउनु भयो ।
इक्योल एक्सेसको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्र्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले हात्तीपाइले रोगको निवारण गर्नका लागि स्वास्थ्य कार्यालयको एकल प्रयासले मात्रै नपुग्ने भएकाले सम्पुर्ण सरोकारवालाहरुको साथ आवश्यक रहेको बताउनु भयो ।
उहाले नेपालले सन् २०२० मा नेपालबाटै हात्तीपाइलेलाई उन्मुलन गर्ने उद्येश्यका साथ काम भइ रहेको बताउनु भयो । यसैगरी इक्योल एक्ससेसका उपेन्द्र अर्यालले कैलाली, दाङ, बाके, बर्दियामा विद्यालयहरुमा समेत हात्तीपाइले रोग सम्बन्धि कार्यक्रम सञ्चालन गरीएको जानकारी दिदै हात्तीपाइलेको उन्मुलन गर्न सबै पक्षको सहयोग आवश्यक हुने बताउनु भयो । कुल जनसंख्याको १ प्रतिशत भन्दा कम जनसंख्यामा मात्रै हात्तीपाइले संक्रमण देखिएमा हात्तीपाइले उन्मुलन भएको मान्न सकिन्छ ।
अन्र्तक्रिया कार्यक्रममा कञ्चनपुरमा रहेका विभिन्न सञ्चार माध्यमसंग आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।