महेन्द्रनगर । कञ्चनपुरमा अब प्लाष्टिक झोलाको प्रयोग गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १ गते अर्थात नयाँ वर्ष २०८० देखी बजारमा ४० माईक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्रिी वितरण, र प्रयोगमा प्रंतिबन्ध गर्ने भएको छ ।
वातावरणलाई असर गर्ने प्लाष्टिक बजारमा अहिले व्याप्त रुपमा प्लाष्टिकको प्रयोग बढदै जान थालेपछि वातावरण मन्त्रालयले ४० माइक्रोनभन्दा कमका झोलाले मानव स्वास्थ्यमा असर पर्ने र ‘रिसाइकल’ गर्न नमिल्ने भनी प्रतिबन्ध लगाएको हो । त्यही अनुरुप जिल्लामा पनि अब प्लाष्टिकको झोलाहरु प्रयोग गर्न नमिल्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले जिल्लामा रहेका विभिन्न सरोकारवालाहरुसँग गरिएको वैठक अनुसार प्रतिबिन्धित प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण, र प्रयोगमा प्रभावकारी नियन्त्रण गर्ने निर्णय भएको बताए । बैशाख १ गतेदेखी बजार अनुगमन गरिने र प्रतिबन्धित प्लाष्टिकका झोला पाईएमा झोला जफत गरिने साथै प्रचलित कानुन बमोजिम कारवाही गरिने समेत उनले बताए । व्यवसायीले प्लाष्टिकको झोला प्रयोग नगरी त्यसको सट्टामा कागज वा कपडाको झोला प्रयोगमा ल्याउन आफ्ना ग्राहकलाई अनुरोध गर्न उनले आग्रह गरे ।
नेपाल सरकारबाट २०७८ भाद्र २८ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तर उक्त प्रतिबन्धलाई सरकारले लागु गर्न सकिरहेको अवस्था छैन् । राजपत्रमा भनिएको छ ‘२० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अहिले सबैखाले प्लास्टिक झोला आम प्रचलनमा छ ।
निर्देशिकामा प्रतिवन्धित झोला प्रयोग गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अहिले आम उपभोक्ता प्लास्टिकका झोलामा सामान बोक्न सहज मान्छन् । सामान किनिसकेपछि पसलले नै त्यसलाई बोक्ने झोला दिनुपर्ने मान्यता राख्छन् । प्लास्टिकमा बानी परेका उपभोक्तामा घरबाटै झोला बोकेर बजार÷पसल जाने बानी बसाउनुपर्ने वातावरणविदहरुको भनाई रहेको छ ।
प्लास्टिकको प्रयोग रोकेपछि कागज, सुती, अल्लो, जुटका झोलाको प्रयोग गरिनु पर्ने हुन्छ । सजिलोमा बानी परेका उपभोक्ता प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त ग्यासले क्यान्सर लगायत रोग लाग्ने, माटोको उर्बराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, नाला तथा ढल जाम गर्ने, सहर वा गाउँको सौन्दर्य घटाउने लगायतका असरबारे गम्भीर नहुँदा पनि प्रयोग निरुत्साहित हुन नसकेको विज्ञहरु बताउँछन् । एक माइक्रोन भनेको एक मिटरको रु १० लाख भागमध्येको हो ।