केको बाहुन केको कामी केको जनजाति
जातको कुरा गर्नेहरू देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरो छोराले कमिनी ल्यायो
मेरी छोरी नि दमाइसित गई
मैले गुर्सिनी ल्याएकै हो
हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ
हुन्न हुन्न मेरो घरमा जातको कुरा हुन्न‘
यो लोक दोहरी गीत गायक पशुपति शर्मा र गायिका देवीका केसीले गाएर विद्युतीय माध्यमबाट प्रसारण भएपछि गीतको प्रशंसा र त्यत्तिकै कटु आलोचना पनि भयो। यो गीतको यति धेरै विरोध भयो कि यसलाई सामाजिक सञ्जालमा राखेर पनि हटाइयो। वर्तमानमा यो गीतको श्रव्य दृश्य युट्युबमा हेर्न र सुन्न सकिने तर डाउनलोड, शेयर र सेभ गर्न नसकिँदो रहेछ। आजको मितिमा पनि यो गीत प्रतिबन्धित जस्तै छ। गीतले दिन खोजेको सन्देश नेपाली समाजमा व्याप्त जातीय विभेद र छुवाछुतलाई समाजबाट निर्मूल गर्ने प्रशंसनीय उद्देश्य नै हो। यसका निम्ति गायक पशुपति शर्मा र गायिका देवीका केसी प्रशंसाको हकदार हुनुहुन्छ।
नेपाली समाजमा विशेष गरेर हिन्दु धर्म मान्नेहरू जातका आधारमा सामाजिक मर्यादा क्रममा सानो ठूलो, तल्लो माथिल्लो सोपानमा रहेर जीवन पद्धतिको अभ्यास गरिरहेका छन्। यो पद्धतिले यस्तो जात व्यवस्था निर्धारण गर्यो कि ज्ञान आर्जन गर्ने र बाँड्ने एकाधिकार भएको जात सर्वोच्च, शासन गर्ने र कृषि, बन्द व्यापार गर्ने जात दोस्रो र तेस्रो मर्यादाक्रममा पर्दछन्। अन्तिम क्रममा पारिएको जातले यी तीन जातको सेवा मात्र गर्न बाध्य बनाइनु, सीप र कलाले समृद्ध प्रविधिको श्रोत जात सबभन्दा तल रहनु अनि चौथो क्रमको जातिलाई अन्य जातले जातीय विभेद र छुवाछुत गर्नुपर्ने प्रथा हिन्दु वर्णाश्रम जात व्यवस्था हो।
अमानवीय व्यवस्थाले सबभन्दा तल्लो सोपानमा पर्ने कला र सिपले युक्त प्रविधिले समृद्ध जात समूहलाई छुन नहुने, छोइएको खण्डमा छोइ छिटोले छर्केर छोइनेले शुद्धीकरण गर्नुपर्ने, पकाइएको खानेकुरा नचल्नु, धार्मिक अनुष्ठानमा निषेध गरिने, मन्दिर प्रवेश गर्न नदिइने, पधेरा छुन नदिइने लगायतका विभेद छन्। कथम् कदाचित दलित र गैर दलित युवा युवतीले लुकिछुपी गरेका प्रेम पत्ता लागेको खण्डमा र त्यस्ता प्रेमहरू विवाहमा परिणत भए भने अन्तरजातीय प्रेम विवाह गर्न पुग्ने दलित परिवार केटा पक्ष वा केटी पक्ष जोसुकै भए पनि दलित परिवार र दलित युवा युवतीले पाउने सास्ती, उत्पीडन, यातना आज पनि पाशविक र निर्लज्जता पूर्वक हाम्रो समाजमा घट्नु र पिडकहरूले त्यस्ता मानवताविरूद्धका अपराधलाई सामान्य रूपमा लिइरहनुले पूर्ण लोकतान्त्रिक लाग्ने संविधान भएको देशमा पीडित समुदाय टुलुटुलु हेरेर बस्दैन। न्यायका लागि पुग्नु पर्ने ठाउँसम्म पुग्छन्। विडम्बना न्याय पाउन यति गाह्रो हुन्छ कि पीडितहरू नियति ठान्न बाध्य हुन्छन्।
सारमा नेपाली समाजमा दलित समुदायप्रति जुन सामाजिक दृष्टिकोण छ राज्यसत्ता पनि त्यस्तै दृष्टि अनुसरण गरिरहेको छ। न्याय दिने ठाउँ भनेकै यात समाज हो यात राज्यसत्ता नै हो। दुवै ठाउँमा न्याय दलित समुदायका लागि अति कठिन भइरहेको अन्यायपूर्ण अवस्थाका विरुद्ध माथि उल्लेखित गीत रचना गरिएको हुनुपर्छ। गाइएको हुनुपर्छ र सामाजिक सञ्जालमा प्रसारण गरिएको हुनुपर्छ। सुधारवादी साहित्य र कलाले अभिव्यक्त गर्ने सौन्दर्य भनेको उत्पीडनविरुद्धको सौन्दर्य हो । त्यो न्यायिक सौन्दर्य पशुपति शर्मा र देवीका केसीको कर्णप्रिय स्वरमा प्रकट भयो। अवश्य पनि त्यो गीतले अन्तरजातीय विवाहको विरोध गरिरहनेहरूको घोर विरोधको सामना गर्नु पर्यो होला। आश्चर्य त यो छ कि जातीय विभेद र छुवाछुतको कारण यातना, अवहेलना, शोषण, दमन, अपमान सहन बाध्य समुदायले पनि पशुपति शर्माको क्रान्तिकारी लाग्ने गीतको मर्मलाई किन अस्वीकार गर्योरु सोच्न बाध्य बनायो। हुन त यो गीतको तत्कालीन चर्चा सेलाई सकेको विषय हो। तथापि जब जातीय विभेद र छुवाछुतका बारे साहित्य र कला क्षेत्रले पार्ने प्रभाव सम्बन्धमा बहस र छलफल हुन्छ त्यति बेला पशुपति शर्मा र देवीका केसीले गाएको यो गीत बारे पनि चर्चा हुन थाल्दछ।
मिति २०७७ पौष १ गतेको दिनको दिन पत्रकार एवम् सामाजिक अभियन्ता समता फाउण्डेसनका केन्द्रीय उपाध्यक्ष मिलन परियारले समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियार, संयोजक विकास राई र प्रकृति मगरसँग धनगढीमा छलफल हुने वातावरण बनाई दिनुभयो। उहाँहरू दलित सशक्तीकरण विधेयक सुदूरपश्चिम प्रदेशमा पनि सरकारले शीघ्र प्रदेश सभामा प्रवेश गराई छिट्टै ऐन बनाउनुपर्छ भनी प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्रीलाई स्मरण पत्र बुझाउन काठमाडौंबाट धनगढी पुग्नुभाथ्यो। उहाँहरूसँग नेपाली साहित्य बारे पनि कुराकानी भइरहँदा काठमाडौंमा नेपाली साहित्य र कला बारे जातीय विभेद छुवाछुतका विरुद्ध लेखिएका कृति र गाइएका गीत बारेमा आलोचना निकै भएको देखियो। ऐलानी र नथिया उपन्यासको र माथिको गीतको यति अचाक्ली विरोध किन हुन्छरु त्यसमा पनि पीडित समुदायबाटै किन यस्तो विरोध भयोरु सोचनीय विषय हो भनी उहाँहरूसँग जिज्ञासा राख्दा विकास राईले जुन समुदाय माथि विभेद, अपमान, अत्याचार, उत्पीडन, दमन भई रहेको छ वा भएको थियो त्यही समुदायले अनुभूति अभिव्यक्त गर्दा त्यो अभिव्यक्तिले बलिष्ठ प्रभाव पर्छ भन्ने आशय प्रकट गर्नुहुँदा वास्तविक हो भन्ने पनि लाग्यो। किन भने न्यायिक निकायहरूमा न्यायको याचना पीडितले नै गर्नुपर्ने प्रावधान विद्यमान छ। यस अर्थमा विरोधको प्रयोजन ठिकै थियो। लोक गायक राजु परियारले र गायिका टीका पुनले कति राम्रो दमाईको छोरो बाटुम क्या हो मायाको डोरो, कति राम्री मगरकी छोरी बाटुम क्या हो मायाको डोरी गीत गाउँदा कहीँ कतैबाट विरोध भएन। सचेत लाग्ने दलित समुदायले विस्थापन गरिरहेका जात सूचक दमाई, कामी, सार्की, गाइने, वादी लगायतका शब्द मध्ये दमाई शब्दको प्रयोग यस गीतमा पनि आएकै छ। कतिपय ठाउँका कार्यक्रमहरूमा राजु परियारलाई यहीँ गीत गाउन अनुरोध गरिने गरेको छ। राजु परियारले प्रतिनिधित्व गर्ने समुदाय र गाउनुभएको गीतले अनुभूति गर्नेका तर्फबाट गाइएको भनी समाजमा सहजै स्विकारिएको भनेर बुझ्न सकिन्छ।
आहुतिको विचार भने यस सवालमा भिन्न छ दलित साहित्य भनेको जात व्यवस्था उन्मुलनका लागि सिर्जना हुनुपर्दछ भन्ने छ। र, पशुपति शर्मा र देवीका केसीले गाउनु भएको जस्ता गीतलाई उत्पीडनविरुद्ध मानवीय आकांक्षा भनेर भन्नुभएको छ। शर्माको गीत आवाज विहीनहरूको आवाज पनि हो। यस गीतको औचित्यलाई आहुतिकै विचारले पनि जायज पुष्टि गर्दछ। उहाँ भन्नुहुन्छ( अनुभूति भएकैले साहित्य सिर्जना गर्ने हो भने समाजका शोषक, पीडक, अत्याचारी सामन्तहरूको भूमिका अनुभूति गरेर कला र साहित्य सिर्जना हुने कुरा होइन।
पीडितका पक्षमा साहित्य लेखिँदा पीडितले न्याय पाउन आवश्यक छ भनेर जोसुकैले सिर्जना गर्दा नि हुन्छ। वास्तविकताको अभिव्यक्तिका लागि अनुभूति पनि त्यत्तिकै आवश्यक हो। चेतना र शिक्षाको अभाव भएको समुदाय जो सदियौंदेखि दमन शोषणको कुचक्रमा फसेको छ। त्यस समुदायबाट आज नै सोचे जति कला र साहित्य सिर्जना हुन नसकेको अवस्थामा फरक समुदायबाट कला, साहित्य सिर्जना हुनु धेरै अर्थमा प्रशंसनीय छ। उत्पीडनविरुद्ध अनुभूति गर्नेहरूको सिर्जनाका लागि सम्बन्धित समुदायलाई सिर्जना गर्न उत्प्रेरित गराउन पनि अनुभूतिबाट सिर्जना हुनुपर्छ भन्ने विचार आउँदा त्यसलाई पनि अत्यन्तै मार्गदर्शक मानिनु पर्दछ।
निष्कर्षमा अन्यायका विरुद्ध, दमन र शोषणका विरुद्ध, कला र साहित्यको सिर्जना सबैले गर्नु आवश्यक छ। समाज रूपान्तरणमा सबै सुधारवादी, क्रान्तिकारी सिर्जना र सबै समुदायका सर्जकहरूलाई सबैतिरबाट प्रोत्साहन आवश्यक छ।
यति भन्दै गर्दा नेपाली समाजको सामाजिक विज्ञानलाई पनि हेर्नुपर्छ। जसले हरेक जातिलाई सम्मान हुने शब्द पनि खोजी गरेको छ। बाहुनलाई पण्डितजी वा गुरु, ठकुरीलाई बाबुसाहेब वा राजा साहेब, क्षेत्रीलाई काजी साहब, पूर्वी पहाडमा राई लिम्बुहरूलाई मुखिया र सुब्बा, नेवार समुदायलाई साहुजी भनेर सम्मानजनक शब्द प्रयोग गरिन्छ। तर, मर्यादाक्रममा जातीय छुवाछुत भोग्न बाध्य समुदायलाई सम्मानजनक सम्बोधन हुने शब्दहरू छ्न् कि छैन भनी जिज्ञासा भइदिने हो भने पनि सम्मानजनक भनिएका शब्द पनि छन् भन्ने थाहा हुनेछ, खोजी गर्नु पर्छ। खोजेपछि छ भने त पाइहाल्छ। वर्तमान शब्द पनि स्वीकृत नहुन सक्छन्। ती सम्मानजनक जाति सूचक शब्दहरू कामी र सार्कीलाई मिजार, दमाईलाई दर्जी शब्दहरू हुन्।
पशुपति शर्माको गीतमा सम्मान र अपमान या स्वीकृत वा अस्वीकृत भन्ने सोचिएको हुन्थ्यो भने सायद विवाद या विरोध हुँदैन्थ्यो होला। त्यसै कुनै पनि स्रष्टाले आफ्नो सिर्जनामा अप्रिय र अस्वीकृत शब्दको प्रयोग भयो वा भएन सचेत हुन जरुरी छ। जात व्यवस्था र शब्द मानिसले नै बनाएकाले जुन पुस्तामा ती शब्दहरूले विरोधको सामना गरिरहँदा सुपाच्य र स्वीकार्य शब्द निर्माणमा सम्बन्धित पुस्ताका स्रष्टा लाग्नुपर्छ। सडेगलेकै अप्रिय लाग्ने शब्दहरूलाई निषेध गरेकै राम्रो।