२२ वर्षदखी शुक्लाफाँटाका आरक्ष पिडित पिडामा, फेरि आयोग गठन गर्ने तयारीमा सरकार

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पिडितहरुले विगत २२ वर्षदखी आफनो समस्याको समाधान पाएका छैनन् । कञ्चनपुरमा २०३१ सालमा स्थापना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०५८ सालमा क्षेत्र विस्तार गर्दा त्यस क्षेत्र भित्र बसोवास गर्ने बस्ती उठाउने काम सुरु गरिएको थियो ।

निकुञ्ज पीडितका समस्या समाधानका लागि हालसम्म ३२ वटा आयोग बनी सक्दा समेत पिडितको सुनुवाई हुन सकेको छैन् । पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको न्यायीक आयोगले २ हजार ४ सय ७३ परिवार पीडित भएको पहिचान गर्दै परिचयपत्रसमेत वितरण गरिसकेको छ । तर राज्यले अझै पुनर्स्थापना नगरेको पीडितहरुको गुनासो छ । सरकारले ३२ वटा आयोग बनाए पनि कार्यकर्ता भर्ती केन्द्रबाहेक कुनै उपलब्धि हुन सकेन । पीडितहरु सडक छेउको खाली ठाउँमा शिविर बनाएर बसिरहेका छन् ।

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न लागिएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बसेको बैठकमा सांसदहरुको जिज्ञासामा मन्त्री महतोले २२ वर्षदेखि अलपत्र पीडितहरुको समस्या समाधानलाई सरकारले मुख्य प्राथमिकतामा राखिएको जानकारी गराउँदै अधिकार सम्पन्न आयोग गठनको गृहकार्य भइरहेको बताए ।

‘शुक्लाफाँटा आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गरेर त्यसमा जान लागेका छौं,’ उनले भने । मन्त्री महतोले राहत पाइसकेका व्यक्तिहरु पनि पीडितसँगै अतिक्रमण गरेर बस्दा समस्या भएको बताए । ‘अरु ठाउँमा अतिक्रमण गरेको ठाउँमा दिने कि छुटाउने भन्नेमा कस्तो दोधार छ भने कतिले राहत पनि पाइसकेको छ, कतिले पाउन पनि बाँकी छ ।

पाउनेले त्यहाँबाट हट्न मानिरहेको छैन । नपाउनेको त्यही बसे पनि समस्या छ,’ उनले भने, ‘यो समस्या सल्टाउन अधिकारसम्पन्न आयोग गठन गर्दैछौं ।’ अहिलेसम्म समस्या समाधानका लागि भनेर ३२ वटा आयोग बनेको स्मरण गर्दै मन्त्री महतोले राजनीतिकरणमात्रै भएको जिकिर गरे । समिति बैठकमा रास्वपाका सांसद अशोक कुमार चौधरीले ३२ वटा आयोग बने पनि आरक्ष पीडितको समस्या २२ वर्षदेखि लम्बिरहेको, पीडितहरूले समाधान नभएको गुनासो गरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

चौधरीले आरक्ष समस्याको स्थलगत अध्ययन गर्न प्रस्ताव नै गरे । ‘मेरो प्रस्ताव त के छ भने शुक्लाफाटा वन्यजन्तु आरक्ष पीडितको समस्याबारे संसदीय समिति बनाएर अनुगमनमा जाऊ । यसमा समिति सभापति, वनमन्त्री र सचिवको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.