डोटीमा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ ।
डोटीका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ)को संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।
गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिनु भयो । उहाले निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउने गरेको बताउदै यो यो समस्याको विषय भएको बताउनु भयो ।
उहाका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताउनु भयो ।
उहाले अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम रहेको बताउदै गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँने भएपनि पछि गएर यो जटिल समस्याको विषय बन्न सक्ने बताउनु भयो ।
डोटीका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् । ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिनु भयो ।
जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएकोे तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालका डा ज्योति पाण्डेले गर्भपतन सेवालाई अस्थायी साधनका रुपमा लिन नहुने बताउदै सेवाका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
जिल्ला अस्पतालसहित डोटीका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडौँ तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ ।