कञ्चनपुरमा शिक्षकमाथि कुटपिट गर्ने ८ मध्ये ४ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकमाथि कुटपिट गर्ने ४ पक्राउ परेका छन् । भदौ ३ गते आइतबार भीमदत्त नगरपालिका(१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका शिक्षक विरेन्द्र जोशीलाई मरणासन्न कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये ४ जना पक्राउ परेका छन् ।

घाइते शिक्षक जोशीकी पत्नी भागरथी भट्ट जोशीले ८ जना कुटपिटमा संलग्नलाई ज्यान मार्ने उद्योगमा किटानी दर्ता गराएकी हुन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए।

कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ । फरारमध्ये केही काठमाडौं पुगेको खबर प्राप्त भएपछि प्रहरीले काठमाडौंमैं खोजिरहेको पनि बताइएको छ। अन्य आरोपी महेन्द्रनगर बजारमैं देखिएको जानकारी पाइएको पनि उनले बताए ।प्रहरीले पक्राउ परेका र फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिरहेको छ।

आइतबार विद्यालयका शिक्षक विरेन्द्र जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थी आन्दोलित भएका थिए। आन्दोलितहरुको कुटपिटका कारण शिक्षक जोशी सख्त घाइते भएका छन् । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष ९आईसीयू०मा उपचार चलिरहेको छ। शिक्षक जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ। अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ।

शिक्षक जोशीले विद्यालयको सिंढीमा भेट हुँदा छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ। शिक्षक पक्षले भने प्रहरीले नियन्त्रणमा लिइसकेपछि कुटिएको भन्दै घटनामा संलग्न प्रहरी अधिकृतमाथि कार्वाहीको माग पनि गरेको छ । अभिभावकले आक्रमणकारी तथा दोषी प्रहरीमाथि कार्वाही नभएसम्म विद्यालय बन्द गरेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए । उनले दुबै पक्षको जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान थालिएको बताएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.