महेन्द्रनगर । ललिता निवास जग्गा प्रकरणमा कञ्चनपुरका एकजना पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कञ्चनपुरका एक जनासहित सुदूरपश्चिमका ८ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको हो ।
सिआइबीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ घर भएका नापी कार्यालय डिल्लीबजारका तत्कालीन अमिन कर्णबहादुर चन्दलाई प्रतिवादी बनाउन राय दिइएको छ । तर अहिले उनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फरार सुचिमा रहेका छन् । यस्तै, सुदूरपश्चिमका दार्चुला घर भएका पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ घर भएका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त र डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर ३ घर भएका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सह–सचिव तेजराज पाण्डेलाई प्रतिवादी बनाउन राय दिएको छ ।
यस्तै, डोटीको बडीकेदार गाँउपालिका वडा नम्बर ४ घर भएका गुठी संस्थान केन्द्रीय कार्यालयका तत्कालीन उप–प्रशासक हरिप्रसाद जोशी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घर भएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु प्रकाशनारायण भट्ट र दार्चुलाको मर्मा गाँउपालिका वडा नम्बर १ घर भएका गुठी संस्थान शाखा कार्यालय काठमाडौंका सहायक द्वितीय डबलसिंह ठगुन्नालाई प्रतिवादी बनाउन सिआइबीले राय दिएको छ । उनीहरुलाई फरार सूचीमा राखिएको छ ।
डोटीको पुर्वी चौकी १ फुलौट घर भई काठमाण्डौँमा भुमि सुधार तथा ब्यवस्थापन बिभाग तत्कालिन निर्देशक पस्पराज उपाध्यायको २०७६ सालमा मृत्यु भैसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । प्रतिवेदनमा सरकारी जग्गा हिनामिनामा संगठित रुपमा कीर्ते गरेको आरोपमा सीआईबीले सुदूरपश्चिमका ८ सहित २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।
यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई प्रतिवादी बनाउन राय दिइएको छ । उनलाई पनी प्रतिवादी बनाइएको छ । यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । अनुसन्धान सकेर सिआइबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।