धनगढीमा विरामी मृत्यु प्रकरणमा अस्पताल र मृतकका परिवारजनबीच सहमति

महेन्द्रनगर । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।
मृतकका छोरा बुद्धि राम चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए। अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए। चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए।
शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको मृतकका छोरा चौधरीले बताए। बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन्। मृतक चौधरीको छोरी सुस्मा दहितले आफ्ना बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको बताइन्। ‘डाक्टरले पथ्यरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो।
तसर्थ बिरामीलाई बचाउन मृगौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको ज्यान गएको हो।’ मृतक चौधरीकी छोरीले दहितले बताईन् । अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टीमले चौधरीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मृगौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नसा काट्न पुग्दा अत्याधिक रक्तश्राव भएको र त्यसपछि मृगौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको हो। दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तलाई जानकारी गराएको थियो । डाक्टरले शल्यक्रियासफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको मृतकका छोरी दहितले बताईन् ।
अस्पतालका अध्यक्ष महेश राज जोशीले घटना विषयमा डा। तिवारीसंग स्पष्टीकरण माग भईसकेको र स्पष्टीकरणमा प्राविधिक कारणले शल्यक्रिया सफल नभएको पश्चिम टुडेलाई बताए । शल्यक्रिया उपचारमा आफ्नो अस्पतालको कुनै क्रुटी नभएको दाबी गरेका छन् ।

सम्बन्धित

Comments are closed.