सुदूरपश्चिममा बिभिन्न दुर्घटनामा परी ५ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा २ दिनमा बिभिन्न दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । कञ्चनपुर, बैतडीमा, बझाङ, दार्चुला र डोटीमा भएका बिभिन्न दुर्घटनामा परेर ३ पुरुष, २ महिलाको मृत्यु भएको हो । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मंगलवार दिउँसो बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक सोही ठाउँका ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, डोटीमा डिउटीमा रहेको अवस्थामा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर–१ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । यस्तै, दार्चुलामा एक महिला खोलामा हाम फालेर बेपत्ता भएकी छन् ।

जिल्लाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्दाजी ५० वर्षीया अनुफा चुनारा नौगाड खोलामा हाम फाली बेपत्ता भएकी हुन् । मङ्गलवार राति ११ बजेतिर चुनाराले खोलामा हाम फालेको स्थानीय मनिषा धामीले जानकारी दिए । उता, दार्चुला र बझाङको सीमा क्षेत्र सुर्मा सरोवर क्षेत्रमा हुने जात्रा हेर्न गएका एक जनाको मृत्यु भएको छ । सुर्माभवानीको जात्रा हेर्न क्षत्ति जाने क्रममा अपी हिमाल गाउँपालिका–६ का महावीर महताको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अपी हिमाल गाउँपालिका–३ कटेलीगाड महादेवस्थान पुगेको बेला महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उता, सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलवार साँझ खाना बनाउने क्रममा भान्सा कोठामै सर्पले टोकेर गम्भीर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दिवान सार्कीले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.