महेन्द्नगर । पछिल्लो समय धनगढीमा सर्पहरु अतयधिक देखापर्न थालेपछि उनिहरुको उद्धारमा नगर प्रहरी लागेको छ । धनगढी उपमहानगरपालिकामा दुई महिनाको अवधिमा १ सय ७६ सर्पको उद्धार गरिएको छ। उपमहानगरपालिकाका नगर प्रहरीले सर्प उद्धारसम्बन्धी तालिम लिएर धनगढीमा दुई महिनाको अवधिमा १ सय ७६ सर्पको उद्धार गरेका हुन् ।मानिसको घर‚ गोठ‚ ओछ्यानमुनि‚ भान्सा, कुखुरा, सुँगुर बंगुरका खोरभित्रमा पसेका सर्प उद्धार गरिदै आएको नगर प्रहरी कृष्ण भट्टले जानकारी दिए।
तालिम लिएर विषालु र विषालुरहित सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर उद्धार गर्ने गरिएको उनले बताए ।नगर प्रहरीले अहिलेसम्म अति विषालु गोमन सर्प ६३ वटा‚ लक्ष्मी नाग बेन्डेट करेत १५ वटा‚ करेत आठ वटा‚ भाइपर चार वटाको उद्धार गरेको जनाएको छ। यसैगरी‚ राजगोमन सर्पका सात वटा बच्चाको उद्धार गरिएको भट्टले बताए ।
त्यस्तै‚ धामन सर्प ४६ वटा‚ पानी सर्प १९ वटा‚ अजिङ्गर एक वटाको उद्धार गरिएको छ । वडा ६ मा राजगोमन सर्पको बच्चा भेटिएको भट्टले जानकारी दिए। उद्धार गरिएका सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा बस्तीभन्दा केही टाढाको जङ्गलमा छाडिने गरेको भट्टले बताए । धनगढीमा यसअघिसम्म सर्प उद्धारकर्ता टोली थिएन।
धनगढी उपमहानगरपालिकामा कार्यरत २५ जना सबै नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी तालिम उपलब्ध गराएपछि नगर प्रहरीहरू अन्य कामको साथै सर्प उद्धारमा खटिने गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र सर्प घरगोठमा देखिएमा वा त्यसबाट जोखिमको अवस्था देखेमा नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० फोन गर्न सक्छन्।
खबर आएपछि उद्धारकर्मी खटिन्छन्। तराईमा गर्मी र बाढीका बेला सर्प घरगोठमा देखा पर्छन्। थाहा नपाउँदा सर्पदंशबाट मानिसलाई ठूलो जोखिम छ। घरमा सर्प पसेपछि सम्बन्धित परिवारलाई हुने डर, त्रासबाट मुक्त गराउन सर्प समात्ने कार्यक्रम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ।