कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकारका लागि कार्यालय स्थापना

महेन्द्रनगर । कञ्चनपुरमा एशोसिएशन फर आईडीया नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलय स्थापना भएको छ। बेदकोट नगरपालिका ७ लालपुरमा एक कार्यक्रमका बिच आईडीया नेपालको प्रादेशिक कार्यलयको उद्घाटन गरिएको हो। कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकारका लागि काम गर्ने उद्देश्यले आईडीया नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलयको शुभारम्भ गरिएको हो। आईडीया नेपाल सुदूरपश्चिम प्रदेशले एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूए सँगको सहकार्यमा कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न काम गर्नेछ।


उद्घाटन कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्टले ब्यानर पढेर आईडीया नेपालको प्रादेशिक कार्यलयको स्थापना गरे। कार्यक्रममा बोल्दै उनले कुष्ठ प्रभावित व्यक्तिहरूले अझै पनि समाजमा लुकेर बस्नु पर्ने अवस्था रहेको बताए। कुष्ठ प्रभावित व्यक्ति समाजमा खुलेर आए मात्र यो रोग निवारण गर्न सम्भव हुने बताउँदै उनले यसका लागि आईडीया नेपालले नेतृत्वदायी भूमीका खेल्ने विश्वास व्यक्त गरे।

आईडीया नेपालका केन्द्रीय उपाध्यक्ष अमर बहादुर बोगटीले प्रादेशिक कार्यलयको स्थापना भएसँगै कुष्ठरोग निवारण र प्रभावितहरूको हक अधिकार सुनिश्चित गर्नतर्फ दातृ संस्था र सरकारी निकायको चाँसो बढ्ने तर्क गरे। उनले कुष्ठ प्रभावितहरूको हक अधिकारको क्षेत्रमा थप कार्य गर्ने प्रेरणा प्राप्त भएको जिकिर गरे। उनले प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर, बेदकोट नगरपालिकालगायत सबैको साथ र सहयोगको अपेक्षा पनि गरे।
एशोसिएशन फर आईडीया नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति बेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्ट रहेका थिए। त्यस्तै विशिष्ट अथितिहरूमा आईडीया नेपालका केन्द्रीय उपाध्यक्ष अमर बहादुर बोगटी, एनएलआर नेपालका प्राविधिक निर्देशक नन्दलाल बास्तोला, स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय तथा कुष्ठरोग अधिकृत उद्धव सिँह ठगुन्ना, बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पाल र बेदकोट नगरपालिका वडा नम्बर(७ सदस्य सुभाष मल्ल रहेका थिए। कार्यक्रममा एनएनआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूए को टीमलगायतका व्यक्ति तथा संस्थाहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित

Comments are closed.