’विविधतामा एकतालाई आत्मसात गर्दै’ गौरा उत्सव सम्पन्न

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगर स्थित खुल्लामञ्चमा गौरा उत्सव २०८० सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टको अध्यक्षता रहेको थियो । ’विविधतामा एकतालाई आत्मसात गर्दै’ भन्ने नाराका साथ उत्सव मनाइएको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले बताए ।

सुदूरपश्चिमको कला संस्कृतिलाई नयाँ पुस्तामा सुम्पिनुपर्छ र नयाँ पुस्तामा मौलिक परमपरा तथा चाडपर्वको बारेमा जानकारी दिनुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । होटल व्यवसायी संघ केवल होटल व्यवसायसँग मात्र सम्बन्धित नभएर यस क्षेत्रको पर्यटन विकासका लागि समेत विगत लामो समयदेखि काम गर्दै आइरहेको उनले जिकिर गरे, यस्ता मेलापर्वहरुले सांस्कृतिक पर्यटनको विकासमा जोड दिने भएकाले संस्कृतिसम्बन्धी सानै भए पनि यस्तो कार्य गर्नु होटल व्यवसायी संघको जिम्मेवारीभित्र पर्ने कुरा होटल व्यवसायी संघका अध्यक्ष भट्टले बताए ।

उक्त कार्यक्रममा सुदूरपश्चिमको भाषा, कला, संस्कृति एवम् पर्यटनका क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित उक्त कार्यक्रममा यस क्षेत्रको सांस्कृतिक अवसरमा डेउडा खेलाउँदै आइरहेका डेउडिया, ठाडोखेलका गिदारा, भाषा, साहित्य, संस्कृति तथा संस्कृतिका क्षेत्रमा अनुसन्धान एवम् कलम चलाइरहेका लेखक, तत् सम्बन्धी कार्य गर्दै आइरहेका विभिन्न संघसंस्था, होटल तथा पर्यटन व्यवसायी लगायत तिन दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरेको हो ।

लोकसांस्कृतिक प्रदर्शनी सहितको उक्त कार्यक्रमको अध्यक्षता होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव रामचन्द्र रेग्मीले गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.