दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह समयमै बन्छ: भारतीय राजदूत श्रीवास्तव

महेन्द्रनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दोधारा–चाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने बताएका छन् । सोमबार बिहान दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदूत श्रीवास्तवले बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरे । उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै सो बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे।

स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री एवं नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै काम शीघ्र हुने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले नेपाल–भारत दुवै देशका व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेकोमा जोड दिए । दोधारा–चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भीर हुनुपर्ने बताए ।

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका वेला बन्दरगाह निर्माणकार्यसमेत शीघ्र गर्नुपर्नेमा उनको जोड थियो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोराले समेत सुक्खा बन्दरगाह निर्माणकार्य समयमै गर्नुपर्ने बताए । कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी–आइसिपी बनाउन कार्यविधि तयार भएको छ । करिब दुई सय ८० बिगाहा क्षेत्रफलमा बन्ने आईसीपीमा भन्सार, बैङ्क, गोदाम, जाँच पास, सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेनटाइनलगायतका आवश्यक भौतिक संरचना निर्माणका लागि कार्याविधि तयार पारिएको हो ।

सुख्खा बन्दरगाह क्षेत्र महाकाली नदीमा हालै मात्र निर्माण गरिएको चार लेनको पक्की पुलदेखि पश्चिम करिब १२ सय मिटरको दूरीमा छ । २०७३ मङ्सिरमा दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव गरिएको थियो । तर त्यहाँ ठूलो मानव बस्ती उठाउनु पर्ने भएपछि गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रमा परियोजना प्रस्ताव गरिएको हो।

यसका लागि जमिन प्राप्तिको सुनिश्चितता भएसँगै नेपाल इन्टर मोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको इआईएमा सुझाव माग समेत यसअघि नै गरिसकेको छ । यसअघि सरकारले आफ्नै लगानी र अनुभवमा निर्माण गर्ने भनिए पनि अहिले भारत सरकारको सहयोगमा तीन वर्षमा बन्दरगाह बन्ने गरी एमओयू भएर प्रक्रिया अघि बढेको छ । दोधारा चादनी नगरपालिकाको गौरी शंकर बन र मायापुरी बनको २ सय ८० बिघा जमिनमा सुक्खाबन्दरगाह बन्ने छ ।

जसको निर्माणको लागि ३ अर्व ५७ करोड २३ लाख भारतीय रुपया अनुमानित बजेट रहेको छ । सुख्खा बन्दरगाह र आइसिपी बन्ने भएपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि हाल ढुवानीका साधन नेपालगन्ज र भैरहवाबाट भित्र्याउने गरिएको छ। यो स्थान भएर तेस्रो मुकुलसँगको व्यापारको ढोका खोल्न दोधारा–चाँदनीमा पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउनुपर्ने निजी क्षेत्रको माग छ ।

सम्बन्धित

Comments are closed.