महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ संशोधन गर्न बनाइएको नियमावली संशोधन मस्यौदा समिति निष्क्रिय भएको छ । चौथो पटकको लागि समय थप नभएपछि समिति निष्क्रिय भएको हो। प्रदेशसभामा २ संसदीय समिति थप बनाइएको सो मस्यौदा समिति निस्क्रिय भएपछि अब समितिको संख्या ४ नै रहने भएको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि मस्यौदामा सहमति हुन नसकेपछि चौथो पटक समय थप गर्ने विषयमा विवाद सुरु भएको थियो।
बैठकमा उपस्थित कांग्रेस विक्रम धामी र माओवादीका मान बहादुर धामीले समय थप गर्ने भन्दा एमालेका सुरेन्द्र पाल र राप्रपाकी खेमा देवी विष्टले विरोध जनाएपछि समितिले म्याद थप गर्न सकेन। पाल र विष्टले समय थप गर्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यसपछि सभामुखलाई म्याद थप गर्न भन्दै निवेदन पेश गरिएको थियो ।भदौ ४ गते बसेको प्रदेशसभा बैठकमा गठन भएको ७ सदस्यीय नियमावली संशोधन मस्यौदा समितिलाई १५ गतेसम्म समय दिइएको थियो। समयभित्र मस्यौदा तयार गर्न नसकेपछि भदौ २३ गते सम्म समय दिइएको थियो । थपिएको समयमा पनि सहमति नभएपछि तेस्रो पटक ३० गतेसम्मको लागि समितिको समय थप गरिएको थियो।
सभामुख भीमबहादुर भण्डारीले चौथो पटक समय थप नगरेपछि उक्त समिति निष्क्रिय भएको हो ।त्यस बेला सम्म पनि सहमति हुन सकेन ।३० गते नै समय सकिएपनि ३० र ३१ गते सार्वजनिक बिदा भएका कारण १ गते सम्म सभामुखलाई समय थप गर्न आग्रह गर्ने तयारी थियो । हिजो सभामुखले पनि समय थप नगरेपछि उक्त समिति निष्क्रिय भएको हो । ‘तीन पटक सम्म समय थप गर्दा पनि काम सम्पन्न भएन अब समय थप नहुने सभामुख भण्डारीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले सम्म विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास ‘समिति छन् ।अहिले संशोधन समितिले विधायन प्रदेश मामिला तथा सुशासन समिति,सार्वजनिक लेखा समिति,अर्थ विकास तथा योजना,सामाजिक न्याय, प्राकृतिक स्रोत वातावरण तथा समन्वय समिति र कृषि गरिबी निवारण तथा भूमि व्यवस्थापक समिति प्रस्ताव गरेको छ ।
मस्यौदा समितिले २ वटा विषयगत समिति थप गर्ने प्रस्ताव गरेको थियो । तर, सभामुखले म्याद नथप्ने भएपनि अब पुरानै नियमावली सक्रिय हुने छ । जसमा ४ वटा विषयगत समिति छन् ।
Comments are closed.