महेन्द्रनगर । बाजुरमा भाईरल ज्वरोको कारण २ जनाको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसाँगुमा भाइरल ज्वरोको प्रकोपबाट दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा सोही वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिएका छन् ।भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको शाहीले बताए ।
उनका अनुसार गाउँमा रहेका एक सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वराका कारण गाउँका एक दुई जना त सबै घरमा बिरामी परेको छन् । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ, उपचारका लागि पहल गर्दा पनि कतै बाट स्वास्थ्यकर्मी नआएको स्थानीयले गुनासो गरेका छन् । ज्वरो १०३ डिग्री माथि आउने, खोकी लाग्ने, शास फुल्ने जस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन् ।
गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाबाट दुइ जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधी सहितको टोली पठाउन लागेको चन्दले बताए । भाइरल ज्वरोबाट जेष्ठ नागरिक, बालवालिका र दिर्घरोगी सबै भन्दा बढी प्रभावित भएका छन् ।