आज सोमवार फागु पुर्णिमा अर्थात होली पर्व मनाइएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व शुरुवात भएको मानिन्छ ।
विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराणमा पनि होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ ।
यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ ।
शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । होली पर्वमा एकआफसान रङ्ग÷अबिर दलेर मनाउने गरिन्छ ।
त्यसैगरी होली पर्वमा धार्मिक गाथाहरुको समेत गीतका माध्यमबाट वर्णन गर्ने गरिन्छ । यस वर्ष भने अन्य वर्षको तुलनामा होलीको चहलपहल कम देखिएको छ ।
चीनबाट शुरु भएर विश्वका धेरै मुलुकहरुमा फैलिएको कोभिड (१९) कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले नै भिडभाड हुने गरि होली पर्व नमनाउन आग्रह गरेकाले समेत होली पर्वको रौनकता कम देखिएको हो ।
विगतका वर्षहरुमा होलीको बेला बिक्रि हुने टिसर्ट, पिच्कारी, रङ्गहरुको कारोबार समेत यस वर्ष कम भएको कञ्चनपुरको महेन्द्रनगरका व्यापारीहरुले बताएका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण फैलिने भन्दै सरकारले नै भिडभाड नगर्न भनेकाले समेत होलीको चहलपहल कम भएको र व्यापार समेत विगतका वर्षजस्तो हुन नसकेको बताएका छन् ।
होली पर्वलाई समुदायगत रुपमा फरक फरक तरिकाले र फरकफरक समयमा मनाउने चलन रहेको छ । करिब १ महिनाअघि माघ पुर्णिमाका दिनदेखि राना थारु समुदायले राखिएको होली आज साझ दहन गर्ने गर्दछन् ।
होलिका राखेको दिनदेखि जिन्दा होली र आज दहन पश्चात मरी होली १ हप्तासम्म खेल्ने चलन रहेको छ । राना थारु समुदायका व्यक्तिहरुले गोबरको गुइटाकोे होलिका बनाई आज साझ जलाउने गर्दछन् ।
होलिकाको प्रतिमा जलाउने समयमा अक्षता हाल्ने, सिरकी नामक वनस्पतिमा मुगा, कौडी, सीपी, तामाको पैसा लगायतको मालालाई जलिरहेको होलिकाको प्रतिमालाई देखाई सो माला बच्चाहरुलाई पहिराएमा रोगव्याधीबाट मुक्त हुने विश्वास समेत रहेको छ । त्यसैगरी भोलि अपराह्न जलेको होलिकाको प्रतिमुर्तिको खरानीको टिका लगाउने समेत गरिन्छ ।
यस्तै होली पर्वका दिन कञ्चनपुरमा भने कुनै पनि किसिमका उच्छृङखल क्रियाकलाप नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्च्नपुर जिल्लामा होली खेल्ने क्रममा कुनै पनि किसिमको उच्छृङखल घटना नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताउनु भयो ।