महेन्द्रनगर । कञ्चनपुरमा रहेको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेसवानले जिल्लामा रहेको बिभिन्न ४० वटा सामुदायिक विद्यालयमा ६ हजार ७ सय विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । जिल्लाका बिभिन्न क्षेत्रका ४० विद्यालयका ६ हजार ७ सय जनालाई झोला वितरण गरेको हो ।
भाद्र महिनादेखी जिल्लाका ४० वटा विद्यालयमा झोलाहरु वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । यो महिनामा दोधारा चाँदनी नगरपालिकामा रहेका ५ वटा सामुदायिक विद्यालयका ६ सय १७ जना बिद्यार्थीलाइ झोला बितरण गरिएको थियो । उक्त संस्थाले कञ्चनपुरमा ३८ वटा र कैलालीमा २ वटा गरी ४० वटा बिद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरण गर्ने कार्यक्रम रहेको छ ।
विद्यार्थीहरुका लागि आवश्यक पर्ने, कापी, कलम, कलर बक्स, टिफिन, स्वास्थ्य सामग्री लगायतका सामग्रीहरु उक्त झोलामा राखिएको छ । उक्त शैक्षिक सामग्री सहितको एक स्कुल झोला बजार मुल्य दुई हजार भन्दा बढी रहेको पेसवान नेपालका उपाध्यक्ष पशुपति थापा मगरले बताइन् ।
चाइना फाउण्डेसन नेपालको सहयोगमा पेसवान नेपाललले गत वर्ष भीमदत्त २८ विद्यालयका चार हजार ३ सय ४० जना विद्यार्थीहरुलाई झोला वितरण गरेको संस्थाका सदस्य चन्दले बताए । चालु आर्थिक वर्षमा कञ्चनपुरमा भीमदत्त नगरपालिकामा २४ वटा, दोधारा चादनी नगरपालिकामा ११ वटा र कैलालीको जानकी गाँउपालिकामा २ वटा विद्यालयका ६ हजार ७ सय बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरणको कार्यक्रम गरिरहेको उनले बताए ।
आफुहरुले बिद्यालय छनौट गर्दा सबै भन्दा बढी दलित, पिछडिएको वर्ग, विपन्न बालबालिका रहेको शैक्षिक संस्था सामुदायिक बिद्यालयलाई छानेर बाल कक्षा देखी कक्षा ८ सम्मका सबै बिद्यार्थी भाईबहिनीहरुलाई उक्त अति उपयोगी झोला वितरण गर्ने उनले बताइन् ।