बैतडीको जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका केरा उत्पादनका लागि पकेट क्षेत्र भनिए पनि पछिल्लो समयमा पकेट क्षेत्रमै केरा पाउन मुस्कील भएको छ ।
दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खीरेगाउँ लगायत क्षेत्रमा केरामा रोग देखिएपछि किसानहरु समस्यामा परेका हुन् ।
गाउँका किसानहरुको आम्दानीको श्रोत भनेको केराखेती नै रहेको भएपनि पछिल्लो समयमा रोगले सबै बोट नष्ट भएका स्थानीय घनश्याम भट्टले बताउनु भयो ।
केरामा लागेको रोगका विषयमा कृषि प्राविधिकहरुसँग पनि सल्लाह माग्दा खासै समस्या समाधान नभएको बताउदै उहाले के रोग लागेको हो भन्ने पत्ता लगाउन नसकिएको बताउनु भयो ।
स्थानीय जातको केरा खानमा पनि निकै मिठो हुने भएकाले यो केराको माग बढ्दै गएको छ । तर पछिल्लो समयमा रोगले सखाप भएपछि केरा उत्पादन घट्दै गएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ को गाँजरी, फर्तोला, गरुडी, तितरागाउँ लगायत क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानहरुले बताएका छन् ।
बोट सुक्ने रोगकै कारण केराखेती नष्ट भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनु भयो । केरा पकेट क्षेत्रमै केरा नष्ट भएको जानकारी प्राप्त भएको बताउदै चन्दले केरामा के रोग लागेको हो भन्ने खासै पत्ता नलागेको बताउनु भयो ।
एकै जातको केरा धेरै वर्ष भएपछि केरामा रोग लागेको हुन सक्ने चन्दले बताउनु भयो । किसानहरुले केराको नयाँ जात रोप्न नसक्दा समस्या भएको उहाको भनाइ छ । रोगले केरा नष्ट भएको ठाउँमा नयाँ जातको केरा लगाउन कृषि प्राविधिकहरुले सुझाव दिएका छन् ।
केरा पकेट क्षेत्रमा केरा उत्पादनमा कमी आएपछि स्थानीय मेलापर्वहरुमा समेत केरा पाउन छोडेको छ ।
विभिन्न मठमन्दिरमा लाग्ने मेलामा स्थानीय जातको केरा बिक्रीका लागि किसानहरुले ल्याउने गरेको भए पनि पछिल्लो समयमा केरा पाउन छोडेको दशरथचन्द नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनु भयो ।
Comments are closed.