महेन्द्रनगर । मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन् । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधवार बिहानसम्म २७ जना घाइते भएका विवरण आएको हो । प्रदेशको बझाङमा सबै भन्दा बढी क्षति भएको छ ।
बझाङमा मात्रै एक जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यस्तै, अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २ र २ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहर सामग्री एकद्वार प्रणालीमा वितरण गर्ने निष्कर्ष निकालिएको छ ।