महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले आफनो सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सिमानाका गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरी ४ सय जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । सीमावर्ती भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा मन्त्र अस्पतालले गत असोज तेस्रो सातादेखि हेल्थडेस्क राखेर निःशुल्क स्वाथ्य सेवा प्रवाह गर्दै आएको छ ।
कामका लागि भारत गएका दशैँ र तिहारका बेला स्वदेश फर्किने नेपाली नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य सेवा प्रवाहका साथै अति अशक्तलाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याईदिने सम्मको सेवा प्रवाह गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले जानकारी दिए । कोरोनाकालमा आफ्नै आँखा अगाढी एकजनालाई हृदयघात हुँदा बिरामीको मृत्यु भएको अनुभव सुनाउँदै उनले आफुहरुले हेल्थडेस्क राखेर फेरी त्यस्तो समस्या नहोस भनेर पनि यो सेवा दिएको बताए ।
यदी यस्तै सेवा त्यती बेला दिन सकेको भए एकजनाले अकालमै मृत्युवरण गर्न नपर्ने उनको भनाई छ । ‘चार्डवाडका बेला स्वदेश फर्किने नेपालीको अत्यधित चाप हुन्छ, ‘उनले भने, ‘लामो यात्रा गरेर स्वदेश फर्किने नेपाली नागरिक भारतीय शहरदेखि सीमावर्ती क्षेत्रमा पुग्दासम्म सकसका विच पुग्छन, यात्राका क्रममा उनीहरुको स्वास्थ्यमा आउने समस्यामा हामीले सक्दो सहयोग गरेका छौँ ।’
समान्य चेकजाँचदेखि आधारभूत निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए । ‘भारतबाट स्वदेश फर्किने नेपाली मात्रै नभई भारतीय सहित नेपाल घुम्न आउने तेस्रो मुलुकका नागरिकको समेत स्वास्थ्य चेकजाँच गर्दै आएका छौँ, ‘उनले भने, ‘छिटफुट भारत जाने हेल्थडेस्कमा आए उनीहरुको समेत चेकजाँच गरिरहेका छौँ ।’डा.रोकायाका अनुसार हालसम्म झण्डै ४ सय बढि मानिसलाई सेवा प्रवाह गरिएको छ ।
समाजिक कामका साथै अस्पतालबाट समाजिक दायित्वका लागि सीमावर्ती क्षेत्रमा भिडभाँड हुने समयमा हेल्थडेस्क राखेर सेवा प्रवाह गरिएको उनले बताए । छठसम्मै हेल्थडेस्क मार्फत स्वास्थ्य सेवा प्रवाह गरिने निर्देशक रोकायाले बताए ।
स्वदेश फर्किदा स्वास्थ्यमा आएको निःशुल्क सेवा पाएपछि नेपाली मजदुर हर्षित भएका छन । उनीहरुले यात्राका दौरानमा देखिएको स्वास्थ्य समस्या मातृभूमि टेक्दा मन्त्रले समाधान गरेको भन्दै खुसी व्यक्त गरेका छन । उक्त हेल्थडेस्कमा सशस्त्र प्रहरी बलले समेत साझेदारी गरेको छ ।