सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बैतडी, डडेल्धुरा, बाजुरा र कैलालीमा भएको दुर्घटनामा ४ जना पुरुषको मृत्यु भएको हो । बैतडीमा एकजना गोठभित्र मृत अवस्थामा फेला परेका छन् । बुधबार दशरथचन्द नगरपालिका–२ सुन्दरखालीका करिब २३ बर्षीय चक्रराम लावड गोठभित्र मृत अवस्थामा फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका–२ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका–२ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बालुवा राखेको गोठमा उनी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उता, बाजुराका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुड्डी बाजुराबाट खटिएको टोलीले उनको खोजतलास र घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

यस्तै, कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति ९ः४५ बजेको समयमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । उता, डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१च २९५५ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पु¥याएपछि डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । विपरित दिशाबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको कार र उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित

Comments are closed.