महेन्द्रनगर । कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्यलाई ठेकेदारहरुले अलपत्र छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरले दैजी–डोकेबजार पैदल यात्रा अभियान शुरु गरेको छ । दक्षिणी क्षेत्र भएर कैलाली–कञ्चनपुरका सदरमुकाम (धनगढी–महेन्द्रनगर) जोड्ने हुलाकी राजमार्ग निर्माणका ठेकेदारले चरम ढिलासुस्ती गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले बुधबारदेखि दैजी–डोकेबजार पैदल यात्रा अभियान गर्न सुरु गरेको हो ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिका ३ दैजीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी बेलौरी र पुनर्वास हुँदै डोकेबजारसम्म अभियान संचालन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका नेता एव दैजी–डोकेबजार पैदल यात्रा अभियानका संयोजक जनक सिंह धामीले बताए ।
अलपत्र हुलाकी सडक शिघ्र निर्माणको माग अघि सारेर सरकारलाई दवाव दिनका लागि दैजी–डोकेबजार पैदल यात्रा अभियान गर्न लागेको उनले जानकारी दिए । तीन बर्षमा सक्नुपर्ने काम दोब्बर बढि सात बर्ष समय लगाउँदा समेत पुरा नगरेपछि सरकार सहित सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनका लागि अभियान संचालन गर्न लागेको संयोजक धामीको भनार्य रहेको छ ।
पैदल यात्राको उदेश्य समयमै सडक निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएर शिघ्र निर्माण गराउनु रहेको उनले बताए । यस अघि पनि हामीले व्यक्तिगत तथा संस्थागत रुपमा हुलाकी सडक निर्माणको काम दवावमुलक गरेका थियौँ, आज पार्टीबाट सृजनात्मक अभियान संचालन गरिरहेका छौँ ।’ बुधबार दैजीदेखि बेलडाँडी बेलौरी, पुनर्वास हुँदै बिहीबार डोकेबजारमा पुगेर समापन गरिने संयोजक धामीले बताए ।
दक्षिणी क्षेत्रका जनताका समस्या केन्द्रीत गरेर पार्टीले उक्त विषय उठान गरेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने उदेश्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेजसिह धामीले बताए । सभापति धामीले जनताका यात्रादेखि आम नागरिकका समस्यालाई मध्य नजर गर्दै सडक निर्माणका लागि अभियान संचालन गर्न थालेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले सडक निर्माणका लागि समेत दल र जनताकाले अहिले सडकमा आउनुपर्ने बाध्यता आईलागेको बताए । ‘यदी सरकारले ठेकेदारलाई शुरुवाती चरणदेखि नै काममा खटाएको भए, आज यो अवस्था आउने थिएन, ठेक्का दिएको सडक पनि सरकारलाई बनाई माग्न आन्दोलन गर्नुपर्ने बाध्यता आयो ।’ ठेकेदार कम्पनीले शुरुवाती चरणदेखि अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको हुँदा बाध्यताले पार्टीले सरकारको ध्यानाकर्षण गराउन अभियान संचालन गरेको बताए ।
कञ्चनपुरमा तीन खण्ड गरेर हुलाकी सडक ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा रहेका छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।
०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।