रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

महेन्द्रनगर । रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ ।

सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सूचना अधिकारी घिमिरेले जानकारी दिए । टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए । ०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए ।

जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो । अग्राधिकार दिएपनि पाँच महिनापछि सुनुवाइ तोकिएको मुद्दा स्थगित भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.