कञ्चनपुरमा प्लाष्टिकका झोला र फुलगुच्छा बेच्न नपाईने

महेन्द्रनगर । कञ्चनपुरमा प्लाष्टिकका झोला र फुलगुच्छाहरु बिक्रि वितरणमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यो वर्ष पनि एक सुचना जारी गर्दै जिल्लामा प्लाष्टिकका झोला फुलगुच्छाहरु विक्री गर्न प्रतिबन्ध रहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्व र मेला महोत्सव तथा अन्य समारोहमा प्लाष्टिक जन्य फुलगुच्छा लगायतका सामाग्री प्रयोगमा रोक लगाएको हो । ४० माईक्रोन भन्दा कमको प्लाष्टिकका झोला र प्लाष्टिकका फुलगुच्छा प्रयोगमा प्रतिबन्ध लगाएको भएपनि बजारमा प्रयोगमा रहेको प्लाष्टिकका झोलाहरुको माईक्रोन नाप्ने मसिन नहुँदा पनि चुनौती रहेको पाईएको छ ।

विषेस गरेर तिहार र छठ पर्वमा स्थानियहरुले प्लाष्टिकका मालाहरु अन्य सामग्रीहरु बढी प्रयोग हुने गरेको छ । प्लाष्टिक जन्य फुलगुच्छा प्रतिबन्ध गर्न निर्देशन दिइसकेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । प्रहरी र उद्योग वाणिज्य संघलाई प्लाष्टिक जन्य फुलगुच्छा र प्लाष्टिकका झोला प्रतिबन्ध भएको निर्देशन दिइसकेको उनले बताए ।

बजारमा बिक्रि बितरण गरिएको भेटिए कानुन बमाजिम कारवाही गरिने उनले बताए । अहिले कतिपय किसानहरुले पुष्प खेती गरिरहेको अवस्थामा बजारमा आउने प्लाष्टिकका फुलहरुले विस्थापित गर्ने, किसानहरु मारमा परिरहेका छन् । साथै प्लाष्टिकका फुलहरुले वातावरणमा प्रत्यक्ष असर गर्ने भएकाले यसको प्रयोग र विक्री वितरणमा प्रशासनले रोक लगाएको प्रती स्थानियहरुले खुसी व्यक्त गरेका छन् ।

प्रशासनले प्लाष्टिक जन्य सामाग्रीमा प्रतिबन्ध लगाएपछि उद्योग वाणिज्य संघ कञ्चनपुरले व्यवसायिहरुलाई प्लाष्टिकका फुलगुच्छा र प्लाष्टिकका झोला बिक्रि वितरण नगर्न आग्रह गरेको छ । यस्तै, कतिपय पालिकाले पनि प्लाष्टिकजन्य फुलहरुमा प्रतिबन्ध गरेको छ । कृष्णपुर नगरपालिकाले पनि प्लाष्टिकका माला बिक्री वितरण गर्न नपाइने जनाएको छ । तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि प्रतिबन्ध लगाएको छ ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.