कञ्चनपुर र कैलालीका राना थारु समुदायले दिवारी मनाउँदै

महेन्द्रनगर । कञ्चनपुर रकैलालीको पश्चिमी क्षेत्रमा मात्रै वसोवास गर्ने रानाथारुहरु दिवारी पुजा मनाएका छन् । सामान्यतया दिप प्रज्वलन, गाई, कुकुर, धनकी देवी लक्ष्मी, भारई टिका लगायत विविध धार्मिक कार्य गरि मनाईने दिपावलीलाई रानाथारु समुदायले भने फरक तरिकाले मनाउने गरिएको बेदकोट नगरपालिका वडा नं. ६ सिसैया निवासी समजसेवी प्रेमवती रानाले वताईन् ।

रानाका अनुसार ईष्टदेव गुल्लदेव अर्थात शीव र गौरा पार्वतिको पुजा हुने हुँदा पुरुषले पुजा गर्दा कुखुराको भाले र महिलाले पुजा गर्दा पोथीको बली चढाउने प्रचलन रहेको छ । उक्त पुजामा कुखुराको बलीको अतिरिक्त साईकल अर्थात पानीमा मात्रै उमालेर पकाएको चामलको रोटी, ल्वाङ्ग, जाईफर, धुप, नरिवल आदि पुजाको सामाग्री चढाईने स्थानीय विरेन्द रानाले वताए ।

कार्तिक शुक्ल पक्षको तृतीया अर्थात तिहार सकिएको दोस्रो दिन सकभर विहिवार वा आईतवारका दिन देवारी पुजा हुने गरेको बेदकोट नगरपालिका वडा नं. ७ गोमती रानाले वताईन् । राना थारु समुदायले दिवारी मनाउँदा कूल पूजादेखि गोठको बाहनहरुको पूजा हुँदै आफन्त, गाउँले र छिमेकीलाई भोज खुवाउने प्रचलनलाई आज पनि निरन्तरता दिएका छन्।

राना थारू समुदायको परम्परामा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नरहेपनि पछिल्लो समय परम्परासँगै आधुनिकतासमेत भित्रिएको रानाको भनाइ छ । उनले विगतमा परम्परागत शैलीमा मनाइने दिवारीको समुदायमा छुट्टै रौनकता हुने गरेको भएपछि पछिल्लो समय आधुनिकताका कारण मौलिकता रहेपनि रौनकता भने कमहुँदै गएको बताए ।

‘बाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन नै थिएन भन्थे’ रानाले भने ‘हाम्रो समुदायले तिहारलाई ‘दिवारी’का रुपमा मनाउने चलन भने अहिले पनि यथावत् छ ।’ राना समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ पुरुष वा महिलाले भगवानको पूजा गर्ने चलन छ । तर आजभोली भाईटिका, लक्ष्मी पुजा आदि पनि मनाउने गरेको समाजसेवी प्रेमवति रानाले वताईन् ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिका–१ बन्साहका वडा सदस्य रानाराम रानाले राना समुदाय दिवारीले विशेष अर्थ राख्ने बताए । ‘एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नाश होस् भनी घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ’ वडा सदस्य रानाले भने ’दिवारीको दिन पूजा नहुँदासम्म झाडु लगाउनेदेखि सवारी चलाउनेसम्मको काम रोकिन्छ ।’ यो समुदायले दिवारी कार्तिक शुक्ल पक्षको तृतीययाको दिन मनाइने गर्छन् ।

दिवारी पुजापछि आफन्त, छिमेकीदेखि गाउँमा समुदायका भलमन्साआदिलाई दिवारी भात खान बोलाउन घर घर पुग्ने प्रचलन छ ।’ त्यसैगरी स्थानीयवासी रमेस रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताए । ‘अहिले त राना थारु पहिरनमा सजिएर समूह बनाएर देउसी–भैलोसमेत खेल्न थाले’ उनले भने ‘उहिले दिवारीको दिन गाउँका जमिन्दारको घरमा गएर भोज खाने र सम्मान व्यक्त गर्ने प्रचलन रहेपनि विस्तार हटेर गयो ।’

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेको उनको भनाइ छ । राना थारु समुदायमा अहिले लोकल कुखुराको ठाउँमा बोइलर कुखुरा पूजा गर्न थालिएको रानाको भनाइ छ । ‘बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमासमेत अनेक कुराहरु भित्रिए’ उनले भने ‘तर पनि समुदायले मौलिक रुपमा मनाउँदै आएको दिवारीको प्रचलन छोडेको छैन ।’

हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन पनि जुरुरी रहेको रानाले वताए । समाजसेवी प्रेमवति रानाले राना थारु समुदायमा दिवारी पुजाको विशेष ईतिहास र महत्व रहेको हुँदा त्यसको संरक्षण गर्नु पर्ने अवस्थामा आजका कतिपय युवाहरु प्राचीन परम्परा विर्सदै गएकोमा चिन्ता व्यक्त गरिन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.