महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा २ दिन सार्वजनिक विदा दिईने निर्णय गरिएको छ । दशरथचन्द नगरपालिका ८ पुजारागाउँस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बुधवार मंसिर ६ गते बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रणशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नगर प्रमुखस्तरीय निर्णय गर्दै बुधबार नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय लगायतमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबार र बुधबार जात्रा लाग्दैछ । सो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ ।
यस्तै, बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । महारुद्र धाममा लाग्ने जात्रामा स्थानीय दर्शनार्थीहरुको सहभागितालाई मध्यनजर गरेर पाटन नगर क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वडा कार्यालय लगायतमा सार्वजनिक बिदा दिइएको हो ।
नगर प्रमुखस्तरीय निर्णय अनुसार भोलि नगरपालिका क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा रहेको नगरपालिकाकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । महारुद्र धाममा लाग्ने जात्राको अवसरमा नगरपालिकाले हरेक बर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।
महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन ठूलो जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।