महेन्द्रनगरमा ज्यान मार्ने धम्की दिएर रकम असुल गर्ने २ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा डर त्रास धम्की दिएर रकम माग गर्ने गिरोह सक्रिय भएको पाईएको छ । पछिल्लो समय फोन, म्यासेज मार्फत डर त्रास धम्की दिएर रकम माग गर्ने गिरोह सक्रिय भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले डर त्रास धम्की दिएर रकम माग गर्ने आरोप केही व्यक्तीहरुलाई पक्राउ गरेको छ ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै २ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बैतडी दोगडाकेदार गाउँपालिका ७ छानी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ४ बसपार्क पछाडी बस्ने ४७ वर्षका चन्द्रदेव जोशी र दार्चुला लेकम गाउँपालिका १ हाल भीमदत्त नगरपालिका ३ मा बस्ने वर्ष २६ का नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुवैलाई वेदकोट नगरपालिका ७ लालपुर नजिक रहेको पेट्रोल पम्प नजिकबाट पक्राउ गरिएको थियो । विगत केही दिनेदखी बिभिन्न व्यापारी स्थानियहरुलाई फोन मार्फत डर त्रास धम्की दिएर रकम माग गर्ने र नदिएको खण्डमा ज्यान मार्ने सम्म त्रास देखाएर रकम असुली गर्ने पाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।

बिभिन्न समयमा महेन्द्रनगर बजारमा रहेका बिभिन्न होटल संचालक, साईकल पसल, किराना पसल, कैलालीको चिशापानीमा रहेको होटल व्यवसायीहरु, लगायतका व्यापारीहरुलाई पार्टीको मान्छे हौँ, भन्ने तर पार्टीको नाम नखुलाएर डर त्रास धम्की देखाई रकमको माग गर्ने गरेको उनले बताए । फोन र म्यासेजबाट ज्यान मार्ने धम्की पनि दिने गरेको र पिडितहरुले दिएको जानकारीका आधारमा उनिहरुलाई पक्राउ गरिएको उनले बताए ।

आरोपित २ जनाले ५ लाख रुपैँया सम्म माग गरेको अनुसन्धानबाट खुलेको र पिडितले ५ लाख दिन नसक्दा ३ लाखमा कुरा मिलेपछि रकम लिन आउँदा दुवैजनालाई पक्राउ गरिएको एसपी थापाले बताए । दुवै जनाको कोठामा खान तलासी गर्दा बिभिन्न कम्पनीका ६ वटा सिमकार्ड ३ थान मोवाईल, खुकुरी १ थान, चक्कु २ थान, रकम माग गर्ने व्यक्तीहरुको फोन नम्वर लेखिएका कागजातहरु १ थान नागरिकता, र चन्द्रदेव जोशीले प्रयोग गरेको मोटरसाईकल १ थान प्रहरीले बरामद गरेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस्तै किसिमका फोनबाट डर त्रास देखाएर रकम असुली गरेको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिम आवस्यक कारवाहीको लागी पिडितहरुबाट किटानी जाहेरी दरखास्त लिई अदालतबाट पहिलो पटक म्याद थप गर्ने प्रक्रियामा रहेको एसपी थापाले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.