महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जग्गा नाप जाँच सुरु गरिएको छ । शुक्लाफाँटा नगरपालिका–२ मा जग्गा नापजाँच सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले जग्गा नापजाँचको कार्य सुरु गरेका हुन् ।
सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गाको स्वामित्व दिलाउन नापजाँचलाई तिब्रता दिइएको नगर प्रमुख महराले बताए । उनले नगरवासीलाई जग्गाधनी बनाउन तिब्र रुपमा नापजाँच गरिरहेको र ३ वडामा नापी सकेर चौथो वडामा नापजाँच सुरु गरेको बताए । नगरपालिकाको वडा नं. १, ३ र ९ मा जग्गा नापजाँच सम्पन्न गरिएको छ।
वडा नं. १ मा ३ हजार कित्ता, वडा नं. ३ मा ६ सय कित्ता र वडा नं. ९ मा ९ सय कित्ता नापजाँच गरिएको छ। जग्गा नापजाँच गर्ने थोरै जनशक्तिले पनि छिटो छरितो काम गरेको नगर प्रमुख महराले बताए ।‘हामीसँग थोरै जनशक्ति छ, नापजाँचमा खटिएका कर्मचारीले मेहनतका साथ काम गर्नाले तिब्र रुपमा नापजाँच भइरहेको छ।’ वडा नं. २ मा १ महिनाभित्रै जग्गा नापजाँच सम्पन्न गरिने उनले बताए ।
‘सार्वजनिक जग्गाको संरक्षण गर्दै भोगचलन गरेको जग्गाको मात्रै नापजाँच गर्नुहोला,’ उनले भने, ‘नगरपालिकाको नम्स अनुसार बाटोको नाप गर्ने, खोलानाला र सार्वजनिक जग्गालाई त्यसैमा राख्नुहोला।’नगर उपप्रमुख कल्पना पन्तले जग्गा नापजाँचमा सहजिकरण गर्न स्थानीयलाई आग्रह गरिन्। ‘नापीको क्रममा कुनै समस्या देखिएमा नगरपालिकामा जानकारी गराउनु होला,’ उनले भनिन्,‘समस्याको सामाधान गर्नेछौं, तपाईहरुले सहजिकरण गरेमा जग्गा नापजाँच छिटो हुनेछ।
’नगरपालिकाको भूमि सेवा केन्द्र प्रमुख मोहनराज फुलाराले जग्गा नापजाँच भइरहेका वडामा जग्ग खरिद बिक्रि नर्गन आग्रह गरे । ‘अहिले जग्गा खरिद बिक्री नर्गनुहोला, जग्गा खरिद बिक्रि गर्दा लालपूर्जा नपाउन सक्ने सम्भावना हुन्छ,’ उनले भने ।