एनएनएसडब्ल्यूएको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुए को जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ। शुक्रबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा संस्थाको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको हो।

कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले नेपाल राष्ट्रिय समाज कल्याण संघले जातीय विभेदमा पारिएका दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडी पारिएका समुदायहरूलाई उत्थानशील बनाउनमा अपेक्षित उपलब्धी हासिल गरेको बताउनुभयो। उहाँले संस्थाले पारदर्शी तथा इमान्दारितापूर्वक कार्य गरेकोले ३० वर्षे यात्रा सफलतापूर्वक पार गर्न सफल भएको बताउनुभयो।

उहाँले पारदर्शी तथा इमान्दारितापूर्वक कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले मात्र एनएनएसडब्लुएले जिल्ला परियोजना सल्लाहकार समिति बैठक तथा सामाजिक लेखा परीक्षण गर्ने आँट गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एनएनएसडब्लुए ले समाज रुपान्तरणमा अतुलनीय योगदान गरेको बताउनुभयो। उहाँले सबै स्थानीय तहहरूको समन्वय तथा सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्ने कार्य प्रशन्सनीय भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो।

अध्यक्ष रानाले लालझाडी गाउँपालिकामा अझै कार्यक्रमहरू ल्याउन आग्रह गर्दै आफ्नो कार्यकालमा निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले एनएनएसडब्लुए ले नगरपालिकासँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको र यसले नदि कटानी धेरै हदसम्म रोकिएको बताउनुभयो। उहाँले जनताको तटबन्ध, एनएनएसडब्लुए र नगरपालिका गरि त्रिपक्षीय सहकार्यमा कार्यक्रम सञ्चालन गरि तटबन्ध निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले एनएनएसडब्लुए ले पुनर्वास नगरपालिकाका ११ वटै वडाहरूमा कुष्ठरोग रोकथाम कार्यक्रम घरदैलो अभियान सञ्चालन गरि स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो। दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद्का दृष्टिकोणले जोखिमयुक्त पालिकामा एनएनएसडब्लुए ले विपद् न्यूनीकरण तथा समुदायलाई उत्थानशील बनाउनमा महत्त्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो।

उहाँले संस्थाले विपद् न्यूनीकरणका लागि समूदायको क्षमता अभिवृद्धि, पूर्व सूचना प्रणालीको विस्तार, कार्यविधि तथा नीति निर्माणमा गरेको काम सराहनीय रहेको बताउनुभयो। उहाँले जोखिमयुक्त समुदायलाई उत्थानशील बनाउनका लागि संस्थाले कृषि तथा व्यवसाय सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको भन्दै त्यसको दायरा बढाउन तर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो।
रेडियो महाकालीका प्रबन्ध निर्देशकरपत्रकार खेम भण्डारीले एनएनएसडब्लुए ले गरेको कामहरू स्पष्ट रहेको बताउनुभयो। संस्थाले सञ्चालन गरेको पढाई सिविर राम्रो सुरूवात भएको बताउनुभयो। उहाँले पढाई सिविरमा कक्षा ३ सम्मका बालबालिकालाई मात्र समेटिएकोमा त्यसको दायरा बढाएर कक्षा ५ सम्मका बालबालिकालाई समेट्नुपर्ने तर्क गर्नुभयो।

उहाँले विपद् व्यवस्थानपको महत्त्वपूर्ण चरण विपद् पूर्वको अवस्था भएकोले संस्थाले पूर्वसूचना प्रणालीमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो। उहाँले अपाङ्गता, स्वास्थ्य तथा शिक्षामा भएको उपलब्धीको मापन गर्ने सूचक स्पष्ट भएको तर उद्यमशीलता तथा कृषि क्षेत्रका कार्यक्रमको उपलब्धी मापन गर्ने सूचकमा केही सुधार गर्नुपर्ने सुझाव दिनुभयो।

उहाँले संस्थामा परियोजना बेस कार्यक्रमहरू हुने भएकाले परियोजनाको समाप्तीपछि त्यसको निरन्तरताको लागि स्थानीय तहले जिम्मेबारी बहन गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा संस्थाद्वारा हाल सञ्चालनमा रहेका परियोजनाका कार्यक्रम संयोजकहरूले आफ्नो परियोजनाले हालसम्म हासिल गरेको उपलब्धीहरूको बारेमा प्रस्तुती गरेका थिए। त्यस्तैगरी संस्थाको तर्फबाट लेखाको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा पत्रकार खेम भण्डारीले सामाजिक लेखा परीक्षणको सहजिकरण गर्नुभएको थियो भने, परियोजनाको कार्यक्षेत्रका लाभग्राहीहरूले आफ्नो भनाई राखेका थिए। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उप(प्रमुख, नगरपालिकाका प्रमुख तथा उप(प्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सरोकारवाला निकाय कार्यालयका प्रमुख तथा प्रतिनिधि, लाभग्राही र पत्रकारहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.