महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा ३ जना र कैलाीमा ३ जना गरी ६ जनालाई पक्राउ गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो । यस्तै कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागूऔषधसहित सोही ठाँउका २८ वर्षीय हरिश भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले भण्डारीलाई आफ्नै घरमा सञ्चालन गरेको पसलबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उता, कैलालीमा पनि लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । कैलालीको भजनी नगरपालिका–३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहित दुई जना पक्राउ परेका हुन् ।
मोटरसाईकलको टुल बक्स भित्र लुकाई राखेको अबस्थामा लागूऔषध फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुबै जनालाई प्रहरी चौकी जनकपुर कैलाली र सशस्त्र प्रहरी बल बीओपी कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाँबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।