महेन्द्रनगर । शुक्लाफाँटा एफएमले आफनो १७ औँ वार्षिकोत्सवमा ३ जनालाई सम्मान गरेको छ । पत्रकार, खेलाडी र कृषकलाई सममान गरेको हो । कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको शुक्लाफाँटा पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार उपाध्यायलाई प्रदान गरेको हो ।
आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औँ बार्षिकोत्सव असबसरमा पत्रकार उपाध्यायलाई उक्त पुररस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले पत्रकार उपाध्यायलाई मालाखादा ओढाएर सम्मानका साथै नगद पुरस्कार प्रदान गरेका छन । नेपाल टेलिभिजन कञ्चनपुरकी समाचारदाता उपाध्यायले यस क्षेत्रको विकासका क्षेत्रमा कमल चलाएको भन्दै शुक्लाफाँटा रेडियोले नगद ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।
झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएकी महिला सक्रिय पत्रकार उपाध्यायले पुरस्कारसंगै थप जिम्मेबारी बढेको बताएकी छिन् । शुक्लाफाँटा रेडियोले हरेक बर्ष बार्षिकोत्सवका दिन पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । यस्तै रेडियोले देशका अधिकांश युवाहरु विदेशिने क्रम बढेको रहेको बेला नेपाल आर्मीको जागिरे जीवनबाट रिटायर भइसकेपछि नेपाल मै केहि गर्नुपर्छ भन्ने उद्देश्यले कैलालीको बुढीतोलामा हिमालय लाइभ स्टक एण्ड एग्रिकल्चर फार्म स्थापना गरी सुदुरपश्चिम प्रदेश मै उत्कृष्ट कृषि तथा बाख्रा पालन व्यवसाय संचालन गरिरहेका पल्लव राज अवस्थीलाई कामको उच्च प्रशंसा गर्दै सम्मान गरिएको छ ।
यस्तै, दक्षिण एसियाली खेलकुद कराँतेमा स्वर्ण पदक हासिल गर्न सफल वेदकोट नगरपालिका १० की सुनिता सुनारलाई पनि सम्मान गरिएको थियो ।