बाजुरा चेतन अयडी हत्या ः ६ जनालाई साधारण तारेखमा छोड्न सर्वोच्चको आदेश

महेन्द्रनगर । गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर क्रूर तरिकाले हत्या गरेको आरोपमा उनीहरु सबैलाई जिल्ला र उच्च अदालतले दोषी देखाएको थियो । सर्वोच्च अदालतले भने मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरेको जनाएको छ ।

धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ । उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए।

सर्वोच्चको फैसला पछि मृतकका बुवा गगन ऐडीले उक्त फैसलाले न्याय नपाएको बताए । ‘भिडिओमा प्रत्यक्ष देखिएका व्यक्तिलाई पनि साधारण तारेखमा छाडेर सर्वोच्चले अन्याय गरेको छ’, उनले भने, ‘यसरी देशमा न्याय कसरी मर्न सक्छ ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.