महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको लागि तीन दलका ६ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका ३, कांग्रेसका २ र माओवादी केन्द्रका एक जनाले धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशी अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलातर्फ कैलालीकै सावित्री घिमिरेले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।
खरेल एमालेको केन्द्रीय लेखा आयोग सदस्य हुन् । घिमिरे अनेमसङ्घकी पूर्वकैलाली अध्यक्ष हुन् भने जोशी पार्टीको भ्रातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुन् ।गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहराले पनि उम्मेदवारी दर्ता गरेका छन् । भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला सभापति हुन् ।
उनी २०६२र६३ सालको जनआन्दोलनमा घाइते भएका थिए । बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधानसभा सदस्य हुन् । यसअघि नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेकी छन् । चन्द माओवादी केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य हुन् ।
गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपाङ्ग र अन्यमा गरी २ र माओवादी केन्द्रलाई महिला कोटाको १ सीट दिने सहमति गरेको थियो । अन्यमा कांग्रेसका बलदेव बोहरा र एमालेका ईश्वरी खरेलबीच चुनावी प्रतिस्पर्धा हुनेछ । महिलामा माओवादीकी रेनु चन्द र एमालेकी सावित्री घिमिरे तथा अपाङ्ग अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र जोशी र कांग्रेसका नारायणदत्त भट्ट बिच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ ।