महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक प्रस्ताव पारित गरी आइतबार शोक विदा दिने निर्णय गरेको छ । भीमदत्तको नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले शोक प्र्रस्ताव पारित गरेको छ ।
कार्यपालिका बैठकले खड्काको निधनको निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनलाई आग्रह गर्ने र त्यसमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीले शोक प्र्रस्ताव पारित गरी आइतबार शोक विदा दिइएको बताए ।भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष खड्का बिहीबार बिहान ऐठपुरस्थित महाकाली सिँचाईको नहरमा मृत भेटिएका हुन् ।
उनको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । वडा अध्यक्ष खडकाका आफन्तले बिहीबार भीमदत्त नगरपालिका पुगेर मेयर पदम बोगटीलाई भेटेका छन् । उनीहरुले खड्काको मृत्यु रहस्यमय भएकाले छानबिन गर्नु पर्ने र परिवारलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
मेयर बोगटीको कार्यकक्षमा भएको भेटमा उनले नगरपालिका कार्यालयको तर्फबाट सबै सहयोग हुने आश्वासन दिएका छन् ।काँग्रेसका युवा नेता खड्का २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् ।