महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको आज शनिवार दाहसंस्कार गरिने भएको छ । शुक्रवार महाकाली प्रादेशिक अस्पतालमा शव जाँच(पोष्ट मार्टम) पछि खड्का शवलाई घर लगिएको थियो ।
शनिवार बिहान १० बजे शवलाई भीमदत्त नगरपालिकामा लैजाने र त्यही बाट शव यात्रा हुने नेपाली काँग्रेस कञ्चनपुर सह सचिव नाफू सिह साउँदले बताए । भीमदत्त नगरपालिकाको सार्वजनिक सुनुवाईमा सहभागी वडा अध्यक्ष खड्का बिहीबार विहान मृत भेटिएका हुन् । २०७९ बैशाख ३० गतेको निर्वाचनमा उनी काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए । वडा अध्यक्ष खड्काको निधनपछि वडामा शोकमय भएको छ । शव घर लगेपछि ऐठपुरस्थित उनको घरमा छिमेकी, आफन्त, स्थानीय, राजनीतिक दलका नेता लगायत विभिन्न क्षेत्रका व्यक्ति पुगेका छन् ।
खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । भारत र काठमाडौंमा अध्ययनरत उनका दुबै छोरा घर पुगि सकेका छन् । भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकले बिहीबार घट्ना छानबिनका लागि स्थानीय प्रशासनलाई आग्रह गरेको थियो । भीमदत्तले उनको निधनमा आइतबार शोक विदा दिएको छ ।